१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, २० : ०९
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर रहेका छन् । उनलाई १२ लाख १४ हजार १०० नेपाली रुपैयाँ बराबरको साउदी रियालसहित विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

नियमित सुरक्षा जाँचका क्रममा समीरलाई आइतबार साँझ करिब ७स्५५ बजे विमानस्थलको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी हिमालय एयरलाइन्सको उडान नम्बर ‘H9 0765’ मार्फत काठमाडौँबाट दुबईतर्फ जान लागेका थिए।

विदेशी मुद्रा विमानस्थल सुरक्षा कार्यालयका अनुसार मगरलाई अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेक–इन एरियामा जाँच गर्ने क्रममा उनको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा साउदी रियाल फेला परेको बताइएको छ । 

उनले ३० हजार साउदी रियाल बाह्य मुलुकतर्फ लैजान खोजेको प्रहरीले उल्लेख गरेको छ। विदेशी मुद्राको स्रोत खुलाउन नसकेपछि उनलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।

बरामद गरिएको साउदी रियालसहित मगरलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए ।