नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

विहीबार, ०३ बैशाख २०८३, ११ : ३३
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला नभएको बताएका छन् ।

वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार जरुरी भएको उनले बताए ।

नेता पाण्डेले फेसबुकमार्फत भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’

उनले पार्टीमा युवा पुस्ता भित्र्याएर पार्टी पुनर्निर्माण जरुरी देखिएको बताए ।

नेकपा एमाले आफैँमा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिन राजनीतिक लाभ मात्र हेर्न नहुने बताउँदै भनेका छन्, ‘दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्तत: पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। अहिलेको वास्तविक आवश्यकता पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो । यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।’

नेकपा एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नु पर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस