एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, ०८ : ४५
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'

काठमाडौ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले संसदमा राखेको धारणामाथि टिप्पणी गरेका छन् । बादलले संसद्मा राखेको धारणालाई 'षड्यन्त्रका कथाहरू' को संज्ञा दिँदै पाण्डेले यो आफ्नो कमजोरी लुकाउने असफल प्रयास मात्रै भएको बताए । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पाण्डेले सेनाले नजोगिएको, कर्मचारीले नटेरेको र प्रविधिले हराएको भन्दै अरूलाई दोष दिनु हास्यास्पद भएको  बताए । उनले यस्तो प्रतिकूल वातावरण सिर्जना हुनुमा आफ्नै सरकारको 'अकर्मण्यता' जिम्मेवार रहेको स्वीकार गर्नुपर्नेमा जोड दिए ।

'हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो। सबै दोष अरूलाई थोपरियो,' पाण्डेले लेखेका छन्, 'हामी पनि दोषी छौँ - यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?' उनले अब 'घेराबन्दीमा पारियो' भन्ने खालको राष्ट्रवादी राजनीति पुरानो भइसकेको भन्दै अबको साँचो राष्ट्रवादी लाइन 'आर्थिक सुधार' मात्र हुनुपर्ने समेत बताएका छन् । बादलको अभिव्यक्तिको उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले समेत आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस