ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, ०७ : १०
ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसको नाममा छुट्टाछुट्टै दुई विज्ञप्ति जारी भएको छ । उक्त विज्ञप्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । 

भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै शनिबार दुवै नेता पक्राउ परेका थिए । सोही विषयमा कांग्रेसका दुई समूहले छुट्टाछुट्टै र फरक शैलीका विज्ञप्ति जारी गरेका हुन्।

विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिए पनि शेरबहादुर देउवा पक्षले त्यसलाई स्वीकार नगरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पार्टीका दुई समानान्तर धारले एकै दिन फरक-फरक धारणा सार्वजनिक गरेका हुन्।

संस्थापन पक्षको संयमित धारणा विज्ञप्तिमा देखिएको छ । पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा सरकारको कदमलाई 'सेलेक्टिभ' र 'त्रुटिपूर्ण' भनिएको छ। विज्ञप्तिमा कांग्रेसले भदौ २३ को राज्य दमन र भदौ २४ को विध्वंश दुवैको निष्पक्ष छानबिन हुनुपर्ने अडान राखेको छ।

विज्ञप्तिमा भनिएको छ, 'सरकारले भदौ २३ का घटनामा सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति बनाउने तर अन्यका हकमा तत्काल कार्यान्वयन गर्ने भन्दै हतारमा पक्राउ गर्नुले सरकारको व्यवहार 'सेलेक्टिभ' देखिएको छ। कानुनको स्थापित विधि पालना नहुनुले न्याय प्रक्रियालाई थप गिजोल्ने देखिन्छ।' प्रवक्ता चालिसेले सरकारले घटनालाई निष्पक्ष छानबिन गर्नुको साटो राजनीति गर्न खोजेको आरोप लगाउँदै उत्तेजना र आवेगमा नभई कानुनी प्रक्रिया बमोजिम अघि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा पार्टीका नेता रमेश लेखकको नाम समेत लिइएको छैन । 

यसैगरी, शेरबहादुर देउवा पक्षबाट पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी अर्को विज्ञप्तिमा भने सरकारको कदमलाई राजनीतिक प्रतिशोध र अवैध हिरासतको संज्ञा दिइएको छ। यो समूहले ओली र लेखक दुवैको पक्राउलाई संविधान र प्रचलित कानुन विपरित भन्दै तत्काल रिहाइको माग गरेको छ।

खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक प्रतिशोध साध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ। कुनै प्रक्रिया पूरा नगरी गरिएका यी पक्राउ कानुनी राज्यको बर्खिलाप र पूर्वाग्रह प्रेरित छन्।' यो समूहले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई नै पक्षपातपूर्ण भन्दै यसको संवैधानिक र राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। साथै, देशभरका कार्यकर्तालाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन अपिल समेत गरिएको छ।

किन आयो दुई विज्ञप्ति ?
नेपाली कांग्रेसभित्र गत विशेष महाधिवेशनदेखि नै नेतृत्वको वैधानिकतालाई लिएर विवाद छ। गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिए पनि शेरबहादुर देउवा पक्षले त्यसलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरेको छ। अदालतबाट अन्तिम फैसला नआइसकेको अवस्थामा देउवा  पक्षले समेत आफूलाई 'आधिकारिक कांग्रेस' दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस