न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित

एजेन्सी

विहीबार, २१ फागुन २०८२, ०७ : ०८
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित

एजेन्सी । ओपनर फिन एलेनको शतकिय पारीमा साविक उपविजेता दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड दोस्रो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। 

बुधबार राति भएको पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता दक्षिण अफ्रिकामाथि ९ विकेटको फराकिलो जित निकाल्दै न्युजिल्यान्ड दोस्रो पटक उपाधि नजिक पुगेको हो। 

यसअघि न्युजिल्यान्ड सन् २०२१ मा भएको विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै उपाधि नजिक पुगेर पनि टाढिएको थियो। सन् २००७, २०१६ र २०२२ को तिन संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो। यो सँगै न्युजिल्यान्डले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ। समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्यु जिल्यान्डलाई ७ विकेटले हराएको थियो। 

न्युजिल्यान्डले अब उपाधिका लागि आइतबार भारत र इंग्ल्यान्डबीचको खेलको विजेतासँग खेल्नेछ। दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनमो लक्ष्य पछ्याएको न्यु्जिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

ओपनर टिम सेइफर्ट र फिन एलेनले १ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै न्यु जिल्यान्डको जितको आधार तयार पारेका थिए। ओपनर टिमले ३३ बलमा ७ चौका २ छक्का सहयोगमा ५८ रन बनाउँदा कागिसो रवाडाको बलमा बोल्ड आउट हुन पुगे। 

अर्का ओपनर फिन एलेनले शतक पूरा गरे। उनले ३३ बलमा १० चौका र ८ छक्का सहयोगमा १ सय रनको अविजित पारी खेले। रचिन रविन्द्र १३ रनमा अविजित रहे। 

प्रतिक्रिया दिनुहोस