टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित

सफल खबर संवाददाता

शुक्रबार, १५ फागुन २०८२, ०७ : ४१
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट बाहिरिने पहिलो टिम जिम्बावे बनेको छ । सुपर-८ को पहिलो खेलमा वेस्ट इन्डिजसँग १०७ रन र दोस्रो खेलमा भारतसँग ७२ रनले पराजित भएसँगै जिम्बावे सुपर-८ बाट बाहिरिएको हो ।

सुपर आठको दोस्रो खेलमा टिम भारतसँग ७२ रनले पराजय भए पनि उसका ओपनर ब्रायन बेनेटले उत्कृष्ट पारी खेले। उनले ५९ बलमा ८ चौका र ६ छक्कासहित नटआउट ९७ रनको पारी खेलेका हुन्।

रोचक त के छ भने विश्वकै उत्कृष्ट बलर जसप्रित बुम्राह, आर्शदीप सिंह, अलराउन्डर हार्दिक पाण्डेया, स्पिनर अक्षर पटेल जस्ता भारतका दिग्गज कुनै पनि खेलाडीले उनको विकेट लिन सकेनन् । सुरुदेखि अन्तिमसम्म टिकेर खेलेका उनले भारतलाई निरन्तर दबाबमा राखेका थिए ।

भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको खेलमा कुनै दबाब बिना उनले उत्कृष्ट इनिङ खेल्दै नेटआउट ९७ रन हिर्काएका हुन् । ओपनिङमा आएर अर्कोतर्फ निरन्तर ६ विकेट जाँदासम्म उनले टिकेर खेलीरहे । जिम्बावेका लागि १८४ रनको सम्मान जनक स्कोर बनाउन महत्त्वपूर्ण योगदान दिए ।

जिम्बावेका ओपनर बेनेट २२ वर्षका भए । उनी टिमका लागि अलराउन्ड प्रदर्शन गर्छन् । उनी राइट आम अफब्रेक बलिङ गर्छन् भने राइट ह्यान्ड ब्याटर हुन् ।

टिम जिम्बावे विश्वकपबाट बाहिरिँदै गर्दा बेनेट सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । समूह चरण र सुपर-८ गरेर पाँच खेल खेल्दा उनी चार खेलमा नटआउट रहे । उनले पाँच खेलमा ३१ चौका र ६ छक्काको मद्दतमा २७७ रन बनाएका छन्।

प्रतियोगितामा तीन वटा अर्धशतक बनाएका उनले भारतविरुद्ध ९७ रनको उत्कृष्ट इनिङ खेलेका हुन् । भारतविरुद्ध शतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाउन भने उनी तीन रनले चुके ।

भारतसँगको हारसँगै एक खेल अगाडि विश्वपबाट बाहिरिएको जिम्बावेले सुपर-८ को अन्तिम खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस