गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, १७ : ४८
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

काठमाडौँ। जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।

गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने उनको घोषणा छ । सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको उद्घोष गरेका हुन् । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।

गुरुङले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’

गुरुङले रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् । पदाधिकारीका आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै पाउने भएपछि उनी रास्वपा नगएका हुन् । बुझिएअनुसार गुरुङले रास्वपाको समर्थनमा चुनाव लड्न चाहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस