शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न

'आफ्नै नेतृत्वमा वैकल्पिक सत्ता समिकरण निर्माण हुने आधार देखेपछि ओलीसँगको गठबन्धन तोड्न तयार थिए'

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०८२, ०८ : ५७
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न

काठमाडौं । एकवर्ष देखि चलेको एमाले–कांग्रेसको सत्ता गठबन्धन फेर्न कांग्रेस सभापति शेरवहादुर देउवा नै चाहन्थे । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको काम गराईबाट आजित भएका देउवा पार्टीभित्र एमालेसँगको सहकार्यबाट बढेको असन्तुष्टिलाई सम्बोधन पनि गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सत्ता समिकरण निर्माण हुने आधार देखेपछि ओलीसँगको गठबन्धन तोड्न तयार थिए ।

संवैधानिक निकायमा भएका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिट निवेदनमाथि सर्वाेच्च अदालतले नियुक्ति खारेजको पक्षमा निर्णयदिन सक्ने देउवाले ठानेका थिए । यदि सर्वाेच्चले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति खारेजको निर्णय गरेको भए उनी त्यसबेला देखि नै अहिलेको सत्ता समिकरण फेरेर माओवादी, एकीकृत समाजवादी लगायत अन्य दलहरुको साथ लिएर आफनो नेतृत्वमा सरकार गठन गरेर अगाडी बढ्न चाहेका थिए ।

शेखर अहिले ओली नेतृत्वमा कांग्रेस सत्ता गठबन्धनमा रहँदा सम्म कांग्रेसका लागि दीर्घकालिन घाटा हुने विषयमा चिन्तित देखिन्छन् । उनले सोही भएर एक चरण प्रचण्ड र विद्या भण्डारीसँग भेट गरेपछि आफ्नै पार्टीका आफु निकटका नेताहरुसँग तीव्र छलफल सुरु गरेका छन् । 

देउवाका विश्वासपात्र गृहमन्त्री रमेश लेखकमाथी लागेको भिजिट भिसा प्रकरणको आरोपमा माओवादी लचिलो बनिदिएको कारण पनि त्यही थियो । माओवादीले बरु लेखक प्रकरणमा पार्टीभित्र बाहिर आलोचना खेपेरै लचिलो रणनीति लिनुमा सम्भाबित नयाँ सत्ता समिकरणले नै काम गरेको थियो । त्यही अनुसारका छलफल र सम्भावित सहकार्य पनि कांग्रेस र माओवादीका नेताहरुका बीचमा भएको थियो ।


कांग्रेस र माओवादी नेताबीच नयाँ गठबन्धन निर्माण सम्बन्धी गुप्त भेटघाट र छलफलहरू पनि भइरहेका थिए।तर जव अदालतले त्यहीबीच ५२ सम्वैधानिक अधिकारीहरुको पद कायमै रहने निर्णय दियो, त्यसपछि देउवा आफैले माओवादीसहित मिलेर बनाउन खोजेको नयाँ सत्ता समिकरणबाट पछाडी हटे ।

सर्वोच्च अदालतले नियुक्ति कायम राख्ने निर्णय गरेपछि देउवाले सत्ता समीकरण फेरिएको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमार्फत प्रतिशोध लिने आशंका गर्न थाले। देउवाले ठाने — ओलीसँग राज्य संयन्त्रमा बलियो पकड छ, र अदालतको प्रयोग गरेर आफन्तजन तथा विश्वास पात्रहरूमाथि फाइल खोल्ने रणनीति अपनाउन सक्छन्। यो आशंका विशेषगरी उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई लिएर अझ तीव्र भएको थियो। परिवारसमेत निशानामा पर्न सक्ने खतरा देखेपछि देउवा अन्ततः नयाँ समीकरण बनाउने तयारीबाट पछि हटे।

त्यसपछि देउवाले तत्काल समिकरण नफेर्ने र ओलीसँगको सहमतिकै आधारमा सरकारको नेतृत्व पालो कुरेर बस्ने रणनीति लिए । अनि भन्न थाले सरकारमा कुनै समस्या छैन ।

झण्डै झण्डै बनिसकेको नयाँ सत्ता समिकरण बाट देउवा पछाडी हट्नुमा देउवाको आतंकले काम गरेको प्रसंग केही दिन अगाडी माओवादी उपमहासचिव वर्षमान पुन अनन्तले पनि गरेका थिए । ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको र सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओलीले त्यस्तो कार्य गर्ने गरेको माओवादी नेता वर्षमान पुनले बताएका थिए । ओलीले कांग्रेससँगकै सरकारको नेतृत्वमा रहेर पनि अहिले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि तर्साउने काम गरेको पुनको भनाई थियो ।

‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैंले लिने कि भन्ने भएपछि आरजु आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ वर्षमानले भनेका थिए ।

हुन पनि ओली यस्तो मामलामा खप्पिस छन् । नेकपाकालमा रामवहादुर थापा (बादल)लाई पनि यस्तै फाइल खोल्ने धम्की दिएर आफुतिर ओलीले तानिरहेका थिए । त्यस्तै भय सरकारको नेतृत्वमा रहेर अहिले पनि ओलीले देउवामाथी गरिरहेको बुझाईमा बर्षमान पुन देखिन्छन् ।

माओवादी नेता पुनको यो भनाईले पनि देउवा ओलीको दवावमा रहेको देखाउँछ । अन्यथा देउवा कांग्रेसभित्रै ओलीे सरकारको बारेमा बढेको जनआक्रोश सहेरै अहिले वसिरहने थिएनन् । उनले आफ्नै नेतृत्वमा सरकार बनाएर अगाडी बढिसकेका हुन्थे ।

देउवा एमालेसँगको सत्ता समिकरण फेर्ने तयारीबाट पछाडी हटेपछि फेरि कांग्रेसभित्रकै शेखर कोइराला गठबन्धन तोडने अभियानमा अगाडी बढेका हुन् ।

माओवादीका एक पदाधिकारीका अनुसार, देउवा एमालेसँगको सत्ता समिकरण फेर्ने बारेमा अगाडी नबढेपछि कांग्रेसकै शेखर कोइराला अहिले अगाडी आएका हुन् । शेखरले त्यही अनुसार अहिले माओवादी अध्यक्ष प्रचण्ड, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कांग्रेसका नेताहरुसँग पनि भेटघाट शुरु गरेका छन् ।

शेखर अहिले ओली नेतृत्वमा कांग्रेस सत्ता गठबन्धनमा रहँदा सम्म कांग्रेसका लागि दीर्घकालिन घाटा हुने विषयमा चिन्तित देखिन्छन् । उनले सोही भएर एक चरण प्रचण्ड र विद्या भण्डारीसँग भेट गरेपछि आफ्नै पार्टीका आफु निकटका नेताहरुसँग तीव्र छलफल सुरु गरेका छन् ।

कोइराला कांग्रेस र एमाले गठबन्धन भत्काउनुपर्ने पक्षमा उभिएका छन् । तर कोइरालाको यो अभियान कति सार्थक हुन्छ ? त्यो भने उनका गतिविधि र उनले कांग्रेसमा लिनसक्ने पकडमा भर पर्छ ।

प्रतिक्रिया दिनुहोस