काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचा पत्र निर्माणका लागि सुझाव संकलन गर्दै छ ।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचा पत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव संकलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा. वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्ति शिखा धिताल छन् ।
योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो ।
पार्टीले हाल अधिवेशन, संगठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्यांकन गर्ने जनाएको छ ।
आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्व उम्मेदवारहरूसँग छलफल र संगठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए ।
निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने