एनपीएल सिजन-२

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, १९ : ४९
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो ।

योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका हुन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस