काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले चुनावी हिसावकिताव निकाल्न थालेका छन् । संस्थापन पक्ष र इतर पक्ष दुवैले महाधिवेशनका प्रतिनिधिहरुको लेखाजोखा गदैं कहाँँ कसरी प्रतिनिधि चयन भए, कुन समुहका कति प्रतिनिधि आए भनेर तथ्य केलाउन थालेका छन् । त्यसका लागि दुवै समुहले टिम नै बनाएर गृहकार्य थालेका छन् ।
ओली पक्षले उपमहासचिव विष्णु रिमाललाई त्यसको हिसावकिताव राख्न निर्देशन दिएको बताइएको छ । यता पोखरेल पक्षमा सुरेन्द्र पाण्डेले त्यसका बारेमा तथ्यांक राख्न सुरु गरेका छन् । ओली पक्षले देशभरका कम्तीमा १५ जिल्लाको महाधिवेशन प्रतिनिधि चयनमा धाँधली गरेको आरोप पोखरेले पक्षले लगाएको छ । दाङ, भोजपुर, ओखलढुंगा, धनकुटा लगायतका जिल्लामा सस्थापन पक्षले धाँधली गरेर प्रतिनिधि चयन गरेको पोखरेल पक्षको भनाई छ ।
ओलीसँग यसपटक महाधिवेशनमा इतरपक्षबाट वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् । उनलाई उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य कर्ण थापा, गोकुल बास्कोटा लगायतका नेताहरुले साथ दिईरहेका छन् ।
ओली पक्षले महाधिवेशनमा राजनीतिक दस्तावेजका बारेमा कुनै छलफल नहुने र सिधै ओली अध्यक्षमा फाइनल भईसकेको बताईरहँदा संस्थापन इतर पक्ष भने प्रतिवादमा उत्रिएको छ । ओली पक्षले भने जस्तो इतर पक्ष जेनजी विद्रोह यताको राजनीतिक घटनाक्रमका बारेमा समीक्षा हुनपर्ने, दुई तिहाईको सरकार ढलेर बालुवाटारबाट प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको हेलिकप्टरमा भाग्नुपर्ने अवस्था किन आयो ? भन्ने बारेमा समेत समिक्षा हुनुपर्ने पोखरेल पक्ष छ । तर ओली पक्ष आफुलाई सहज हुने गरी विधान संसोधनको भित्री तयारीमा लागेको छ ।
ओली पक्षको यही रणनीति बुझेरै पोखरेलको नेतृत्वमा केही नेताहरुले ओलीलाई भेटेरै असहमति जनाएका छन् । बिहिबार ओली निवास भक्तपुर गुन्डु पुगेरै इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवाराज ज्ञवाली, सरेन्द्र पाण्डे र योगेश भट्टराईले ओलीलाई भेटेर प्रतिनिधि छनौटमा भएको धाँधली र विधान संसोधनका विषयमा खुलेर असहमति जनाएको छ ।
पोखरेल पक्ष ओलीको टिम ब्यवस्थापन जटिल देखेर विधान संसोधन हुन दिने पक्षमा छैन ।
‘महाधिवेशन आएको छ। अध्यक्षसँग भेटघाट गरिरहनुपर्ने विषयहरू हुन्छन्। अहिले प्रतिनिधि छनोट प्रक्रियामा समस्या आयो। केही ठाउँमा विवाद भयो। कतिपय ठाउँमा अप्ठेरो पर्यो,’ ओली भेटन गुन्डु पुगेका सचिव योगेश भट्टराईले भने, ‘विवाद देखिएका जिल्लाको विवाद समस्या समाधान गर्न हामीले अध्यक्षलाई आग्रह गरयौं ।’
ओखलढुंगासहित केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकोमा उनीहरुले ओलीसँग आपत्ति जनाएका थिए । ओखलढुंगा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको गृहजिल्ला पनि हो ।
‘शंकर पोखरेलनिकटहरूले दाङमा एकलौटी गरेका छन्। सल्यानमा होटलमा बसेर प्रतिनिधि चयन गरिएको छ। ओखलढुंगामा चयन भएको प्रतिनिधिमा आफ्ना मान्छे आएनन् भन्दै फेरि चयन गर्न भनिएको छ, धनकुटामै समस्या छ, त्यस्तो समस्या सस्थागत धाँधलीको परिणाम हुन् । यसमा हामीले अध्यक्षलाई भेटेरै आपत्ति जनाएका छौं,’ ओलीसँग भेटन पुगेका सस्थापन इतरका अर्का एक नेताले सफलखबरसँग भने ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने १५ जिल्लाका प्रतिनिधि चयनमा समस्या देखिएको रिपोर्ट आफुहरुसँग रहेको बताए । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने कुराको आपत्ति जनाएका छौं,’ उपाध्यक्ष पाण्डेले भने ।
विधान महाधिवेशनले पारित गरेको विधान फेरि चलाउने कोसिस गरेर ओलीले आफु अनुकुल बनाउन खोजेकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार
एमालेले सार्वजनिक गर्यो एघारौँ महाधिवेशनको लोगो