काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गरी आफूले तयारी गरिरहेको बताएका छन्। सर्लाही पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब केही दिनमै देशदौडाहमा निस्किने बताए।
उनले भने, ‘अधिवेशनको प्रक्रिया अगाडि बढ्दै गइसके पछाडि यो अधिवेशनमा कसरी यसको सामना गर्ने भन्ने बारेमा स्वाभाविक रूपमा मैले पार्टीका अरू साथीहरूसँग छलफल गर्छु, नेताहरूसँग छलफल गर्छु, आफूलाई सघाउने काम गरेका साथीहरूसँग छलफल गर्छु। त्यो छलफलपछि यसलाई औपचारिक निर्णय गर्ने एउटा प्रक्रिया छँदै छ। म १५औँ महाधिवेशनको नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हो। म सभापतिको उम्मेदवारको तयारी गरिरहेको छु।’
पार्टीको साथीहरूले १५औँ महाधिवेशनबाट नयाँ सन्देश, नयाँ नीतिसँगै नयाँ नेतृत्व छान्नुपर्छ भनेकाले आफूलाई त्यो जिम्मेवारी दिने विश्वास व्यक्त गरे।
उनले थपे, ‘मैले सबै साथीभाइ सँग सल्लाह गरेर यसलाई औपचारिक रूपमा टुङ्ग्याउने हो। तर यो बेलामा कम्तीमा तपाईँले सोधेको प्रश्नमा यति कुरा भन्न सक्छु म १५औँ महाधिवेशनको नेपाली कांग्रेस पार्टीको सभापति पदको प्रत्याशी हो।’
उनले आफू अब सभापतिको तयारी गर्दै नेता कार्यकर्ताको कुरा बुझ्न केही दिन पछाडि देशैभर जाने बताए। उनले थपे, ‘पूर्वदेखि पश्चिमसम्म जान्छु, त्यो जाने क्रममा पहिला हाइवे तिरबाटै एक पटक २०–२२ जिल्ला पुग्ने भन्ने मेरो योजना छ, कार्यक्रम बनाउँदै छु।’
पार्टीको अधिवेशनको अहिलेको निर्णय, यसको तयारी निर्वाचनसँग सम्बन्धित रहेको बताए।
उनले भने, कांग्रेस पार्टी भित्र अधिवेशनका सन्दर्भमा केही मतभेदहरू रहे, तर त्यसलाई अहिले हामी एउटा समझदारीमा टुङ्ग्याएका छौँ। यो कांग्रेस भित्र भइरहेको अधिवेशनको मतभेद वा अधिवेशनका सन्दर्भमा प्रारम्भ देखिएका अलमलहरूलाई निर्वाचनसँग अलग गरेर राखेर हेर्नु हुँदैन।
फागुन २१ मा चुनाव गर्ने भन्दा अर्को विकल्प यो सरकारसँग नभएको पनि बताए।
गगनले भने, ‘संविधानलाई ठुलो क्षति पुगेको छ। फागुन २१ को चुनावले त्यो क्षतिहरू थप बढ्न नदिने कुरा सुनिश्चित गर्छ। तर यो भनिरहँदै गर्दा नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ र निर्वाचनका बारेमा औपचारिक निर्णयहरू पनि भइसकेका छौँ। तर फागुन २१ गतेको निर्वाचनको लागि दलहरू तयार छ।’
उनले दलहरू चुनावको लागि तयार भए पनि सरकारले पनि वातावरण बनाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा