ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) द्वारा आज आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले यो क्षेत्र कमजोरी बनेको बताए । विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको उनले धारणा राखे ।
मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । उनले भने, “आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन् । पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो ।” उनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए ।
मन्त्री पुनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । “विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ”, उनले भने, “अनुसन्धान र आविष्कारका क्षेत्रमा कन्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ ।”
आफूलाई जिम्मेवारी आएमा कम्तीमा रु. तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गरे । नेपालमा व्यक्तिगत स्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको उनले बताए ।
कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कद्दर पत्रसमेत हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन