स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ५० करोड बजेट, तीन वर्षभित्र ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

सफल खबर संवाददाता

शुक्रबार, १५ जेठ २०८३, १७ : २४
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ५० करोड बजेट, तीन वर्षभित्र ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य बिमा सुदृढीकरण तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि रु. १ खर्ब १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि थप रु १५ अर्ब तथा विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि रु. १३ अर्ब १५ करोड बजेट व्यवस्था गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिए। उनले स्वास्थ्य सेवाको गुणस्तर, प्रभावकारिता तथा पहुँच अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सारिएको बताए।

बजेटअनुसार रोगको बदलिँदो प्रकृति, स्वास्थ्य समस्याको भार तथा लागत प्रभावकारितालाई आधार बनाएर आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गरिनेछ। नागरिकको आवश्यकता अनुरूप स्वास्थ्य सेवा प्रणालीलाई अद्यावधिक गर्दै प्राथमिक स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने सरकारको योजना छ।

त्यस्तै, देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पतालको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गरिने घोषणा गरिएको छ। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित ती अस्पतालको निर्माणलाई तीव्रता दिइने बजेटमा उल्लेख छ।

सरकारले स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, उपचार सेवा तथा स्वास्थ्य पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस