एजेन्सी । अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर पुनः नयाँ आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार उनका सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ समेत खसालेका छन्। बन्दार अब्बासमा पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला उक्त सैन्य स्थलमा आक्रमण गरिएको सेन्टकमले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूले सो सहरको पूर्वतर्फ ठुला विस्फोटका आवाजहरू सुनिएको उल्लेख गरेका छन्।
यो आक्रमण अमेरिका र इरानबिच कायम रहेको कमजोर युद्धविराम र विगत तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि भइरहेको लामो वार्ताका बिच भएको हो। यस युद्धका कारण स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प भएको छ भने विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।
अमेरिकाले यी आक्रमणहरू आत्मरक्षाका लागि गरिएको दाबी गरे पनि यसले युद्धविरामलाई सङ्कटमा पारेको छ। सेन्टकमले आफ्नो कदमलाई ‘विशुद्ध रूपमा रक्षात्मक र युद्धविराम कायम राख्ने उद्देश्यले प्रेरित’ भनी टिप्पणी गरेको छ।
यसअघि सोमबार पनि अमेरिकाले दक्षिण इरानमा ‘आत्मरक्षा’ का लागि भन्दै आक्रमण गरेको पुष्टि गरेको थियो। त्यसबेला स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने प्रयास गरिरहेका इरानी क्षेप्यास्त्र स्थल र डुङ्गाहरूलाई निशाना बनाइएको थियो, जहाँ द्वन्द्वका कारण हजारौँ व्यावसायिक ट्याङ्कर जहाजहरू अलपत्र परेका छन्। सेन्टकमले ती आक्रमणहरू आफ्ना सैनिकहरूलाई इरानी सेनाको खतराबाट जोगाउनका लागि गरिएको बताएको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो आकाशमा प्रवेश गरेको एउटा अमेरिकी ड्रोन खसालेको र एउटा फाइटर जेट तथा अर्को ड्रोनमाथि गोलीबारी गरेको दाबी गरेको छ, यद्यपि यो घटना कहिले भएको हो भन्नेबारे विस्तृत खुलाइएको छैन।
यसैबिच, बुधबार आयोजित क्याबिनेट बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कमजोर अवस्थामा रहेर वार्ता गरिरहेको’ टिप्पणी गर्दै आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्नो युद्ध रणनीतिमा कुनै असर नपार्ने जिकिर गरे। ट्रम्पले भने, ‘शायद हामीले फिर्ता गएर यसलाई टुङ्ग्याउनुपर्छ, वा शायद पर्दैन।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ जेठ २०८३, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण