भारत र पाकिस्तानबीच निरन्तर तनाव

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०८२, ११ : ११
भारत र पाकिस्तानबीच निरन्तर तनाव

काठमाडौं। जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध धेरै कारबाही गरेका छन्, जसमा भारतद्वारा सिन्धु जल सन्धि निलम्बन गर्नु पनि समावेश छ ।

यसपछि दुवै देशले एकअर्काका लागि हवाई क्षेत्र पनि बन्द गरेका छन् । पाकिस्तानले पनि भारतको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । जहाज महानिर्देशनालयले पाकिस्तानी जहाजहरूलाई भारतीय बन्दरगाहमा प्रवेश गर्न नदिने बताएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले पाकिस्तानसँग हुने सबै प्रकारका आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। 'अर्को आदेश नभएसम्म तत्काल लागू हुनेगरी पाकिस्तानबाट हुने सबै प्रकारका प्रत्यक्ष, अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ,' महानिर्देशनालयले भनेको छ, 'पाकिस्तानी झण्डा फहराउने कुनै पनि जहाजलाई  भारतीय बन्दरगाहमा प्रवेश गर्न दिइने छैन । भारतीय झण्डा फहराउने कुनै पनि जहाज पाकिस्तानको कुनै पनि बन्दरगाहमा जाने छैन ।'

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए।ऐतिहासिक रूपमा भारत र पाकिस्तान व्यापारको हिसाबले कहिल्यै धेरै नजिक थिएनन् । दुवै देशले अरब सागर हुँदै समुद्री व्यापार गर्छन् ।

तर सुरक्षा चिन्ता र कूटनीतिक तनावका कारण व्यापारी जहाजहरू प्रायः एकअर्काको बन्दरगाहबाट टाढा रहन्छन् ।तथ्याङ्कले पनि हालका वर्षहरूमा भारत र पाकिस्तान बीचको व्यापारमा निरन्तर गिरावट आएको छ।भारत सरकारको वाणिज्य मन्त्रालयका अनुसार अप्रिल २०२४ देखि जनवरी २०२५ सम्म भारतले पाकिस्तानबाट चार लाख २० हजार डलर बराबरको सामान आयात गरेको छ।

जबकि अघिल्लो वर्षको सोही अवधिमा, अर्थात् अप्रिल २०२३ देखि जनवरी २०२४ सम्म भारतले पाकिस्तानबाट लगभग २८ लाख ६० हजार डलरको सामान आयात गरेको थियो।

निर्यातको कुरा गर्दा अप्रिल २०२४ देखि जनवरी २०२५ सम्म भारतको पाकिस्तानमा निर्यात ४४७.६५ मिलियन डलरमा झरेको छ। जबकि अप्रिल २०२३ देखि जनवरी २०२४ सम्म, भारत र पाकिस्तान बीचको निर्यात १.१ अर्ब डलर थियो।

भारतले पाकिस्तानबाट आयात गर्ने मुख्य वस्तुहरूमा तामा, तामाका सामान, कपास, फलफूल र बदाम, नुन, जैविक रसायन, ऊन पर्छन् । यस्तै, जैविक रसायन, कफी, चिया, मसला, प्लास्टिकका सामान, दुग्धजन्य पदार्थ, औषधि, तेलहन र पशुखाद्य समावेश छन् ।

प्रतिक्रिया दिनुहोस