चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु

एजेन्सी

विहीबार, ११ मंसिर २०८२, १२ : ४१
चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु

काठमाडौं । चीनको दक्षिण–पश्चिमी सहर कुन्मिङमा एउटा रेलले रेल्वे कामदारको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ । 

यो एक दशकयताको घातक दुर्घटना भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । 

चिनियाँ अधिकारीका अनुसार, भूकम्प पत्ता लगाउने उपकरणको परीक्षण गरिरहेको उक्त रेलले लुओयाङ टाउन रेल्वे स्टेसनमा ट्रयाकको घुमाउरो खण्डमा कामदारलाई ठक्कर दिएको थियो ।

चीनको रेल सञ्जाल विश्वकै ठूलो मानिन्छ, जुन एक लाख ६० हजार किलोमिटरभन्दा बढीमा फैलिएको छ । 

यसअघि सन् २०११ मा पूर्वी झेजियाङ प्रान्तमा दुर्घटना भएको थियो, जसमा ४० जनाको मृत्यु र २०० जना घाइते भएका थिए ।

त्यस्तै, सन् २०२१ मा उत्तर–पश्चिमी गान्सु प्रान्तमा लान्झोउ–सिन्जियाङ रेलवेको एक खण्डमा पनि रेलले कामदारलाई ठक्कर दिँदा नौ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस