एमाले वर्तमान सत्ता गठबन्धन तोड्न उद्यत छ : अध्यक्ष माधव नेपालको दस्ताबेज (पूर्णपाठसहित)

केन्द्रीय परिषद् बैठक

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १५ : ५३
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न उद्यत छ : अध्यक्ष माधव नेपालको दस्ताबेज (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् । एमाले विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्धत रहेको अध्यक्ष नेपालको भनाइ छ ।

 

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।‘सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्धत रहेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

 

उनले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडराइरहेको भन्दै आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएको बताएका छन् । साथै उनले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले सत्तागठबन्धनमा उलटफेर ल्याउने प्रयास गरेपनि त्यो सम्भव नभएको बताएका छन् ।

 

‘मुलुकमा कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ । यसमा केही सुधार भए पनि उठेको राजस्वले चालु खर्च धान्न धौ–धौ परिरहेको छ । मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘व्यापार घाटा चुलिँदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुनसकेको छैन ।’

 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।‘लाखौँको संख्यामा रहेको भूमिहीन र गरिब किसान तथा अव्यवस्थित बसोबासीहरुले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथिको स्वामित्व प्राप्त गर्ने र उत्पादनको न्यायोचित वितरण गर्ने काम अहिलेसम्म पनि हुनसकेको छैन’, नेपालले भनेका छन्, ‘विगत सात दशकदेखि उठिरहेको क्रान्तिकारी भूमिसुधारको मुद्दा अहिलेसम्म पनि कार्यान्वयनको दिशामा अघि बढ्न सकेको छैन।’

सामाजिक भेदभावको अन्त्य र सामाजिक न्यायको विषय अहिले पनि जनसरोकारको चर्को मुद्दा बनेको भन्दै नेपालले नेपाली जनतामाथि शोषण उत्पीडनको नयाँ रुप मिटरव्याजी शोषण चरम बनेको बताएका छन् ।

उनले भ्रष्टाचार, कमिशनतन्त्र र तस्करीका अनेकौँ काण्डहरु उदाङ्गिएको भन्दै  सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको बताएका छन् । ‘आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अभैm प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु संचालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोसिस भइरहेको छ ।’

उनले यस्तो अवस्थामा वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरु रहेको पनि बताएका छन् । उनले गठबन्धनका दलहरुबिच छलफल गरेर तयार पारिएका न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । ‘वर्तमान सरकार उपर्युक्त दायित्व पूरा गर्न अझ गम्भीरता र तदारुकताका साथ लाग्न आवश्यक छ’, अध्यक्ष नेपालले आफ्नो पार्टी सरकार संचालनको क्षेत्रबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, मानव अधिकार र सामाजिक न्यायको पक्षमा प्रभावकारी ढङ्गले काम हुनु पर्दछ भन्ने मान्यतामा रहेको बताएका छन् ।

गठबन्धनका दलहरुबिचमा आपसी समझदारीका साथ काम हुनपर्दछ भन्नेमा पार्टीले जोड दिएको भन्दै नेता नेपालले मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको बताएका छन् ।

‘यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी सक्तीहरूबिच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ’, नेपालले भनेका छन्, ‘यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।’ नेपालले पेस गरेको दस्ताबेजमा प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद् अवरोध गर्ने गरेको भन्दै  सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्धत रहेको बताएका छन् ।

आइतबार र सोमबार दुई दिन चल्ने केन्द्रीय परिषद् बैठकले विधान संशोधन मस्यौदामाथि छलफल गरेर अन्तिमरुप दिनेछ । त्यसपछि आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेसँगै संशोधित विधान कार्यान्वयनमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस