नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्म एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ ।
निर्माण भइरहेकाले दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो । आयोजना निर्देशनालयका अनुसार आगामी पुस १५ गतेसम्मका लागि दाउन्ने खढड एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो ।
दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए । अझै पनि उक्त खण्डमा सहज रूपमा यातायात सञ्चालनमा समस्या हुँदै आएको भन्दै उनले आगामी दिनमा पानीपर्नेवित्तिकै समस्या सिर्जना हुने अवस्था रहेको बताए ।
आयोजनाले कल्भर्ट निर्माण अवधिसम्म एकतर्फी सडक सञ्चालन गर्ने उनले जानकारी दिए । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले सबैलाई अनुरोध गरे । दाउन्ने खण्डमा सधैँजसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ । यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउन लाग्नुपर्ने यात्रुको सुझाव छ ।
सडक अवरोध भएको अवस्थामा सवारीसाधन नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैँडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्गे्र सवारीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्नसक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालन
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
दाउन्ने सडक फेरि अवरुद्ध
दाउन्नेमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध