अब त्रिविका ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, ११ : २४
अब त्रिविका ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रकाशित गर्दै माघ १५ गते अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेका हुन।

परीक्षा नियन्त्रण कार्यालयको सेवा छिटो, छरितो बनाउन दुई सातादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी यूनियनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । स्ववियूले सहमति, सम्झौताभन्दा पनि माग पूरा भएको ग्यारेन्टी भएमात्र धर्नालगायत विरोध र आन्दोलनको कार्यक्रम फिर्ता लिने जनाएको छ । मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट समेत दिइने सुविधा अनलाइन माध्यमबाट हुने निर्णय गरेको थियो ।

ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपी र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने परीक्षा नियन्त्रकले प्रतिबद्धता जनाएका छन् । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते सार्वजनिक गरिने समेत कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि दिनभर लाइन बस्नुपर्ने, बैंकमा शुल्क बुझाउन पनि त्यस्तै लाइन खेप्नु पर्ने, शैक्षिक प्रमाणपत्रहरु प्राप्त गर्न हप्तौं कुर्नपर्ने, आवेदन दिन देशभरका विद्यार्थी केन्द्रीय र शैक्षिक कार्यालय नै धाउनु पर्ने लगायतका समस्या कायमै छन् ।