यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०८२, ०७ : २८
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ५१औं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ।

 त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा ल्याई पदकका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची बुधबार प्रकाशित गरिएको हो। त्रिविले आगामी  पुस १० गते बिहीबार ५१औं दीक्षान्त समारोह आयोजना गर्दैछ। सोही समारोहमा वितरण गरिने पदक तथा पुरस्कारका लागि विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो।
यस्तो छ पदक पाउनेको सूची

परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रकाशित नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले पदक तथा पुरस्कार प्राप्त गर्नुपर्ने आधार भएमा स–प्रमाण दाबी विरोध गर्न सकिनेछ। यसका लागि आगामी २०८२ साल पुस ४ गतेभित्र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र दाबी विरोध नआएमा यसै सूचना बमोजिमका विद्यार्थीहरूको नामावली नै पदक तथा पुरस्कारका लागि सिफारिस हुने कार्यालयले स्पष्ट पारेको छ।

कुन तहमा कसले पाउँदैछन् पदक ?
सार्वजनिक विवरण अनुसार एम.फिल तहतर्फ व्यवस्थापन संकायमा ३.९४ सीजीपीए ल्याएर सर्वोत्कृष्ट हुने डीनको कार्यालय कीर्तिपुरका विशाल जोशीले 'त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक' प्राप्त गर्ने भएका छन्।
स्नातकोत्तर तहतर्फ २०७८ सालको दीक्षान्त पदकका लागि स्कूल अफ म्यानेजमेन्टका रक्षा भेटुवाल (एम.बि.ए.) छनोट भएकी छिन्। उनले 'श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक' प्राप्त गर्नेछिन्।

यस्तै, २०७९ सालको स्नातकोत्तर तहको नतिजाका आधारमा अंग्रेजी केन्द्रीय विभागकी आग्या अवालेले 'नरेन्द्रमणि आचार्य दीक्षित पदक' र 'डा. मोहनप्रसाद लाखे पुरस्कार' गरी दोहोरो सम्मान पाउने भएकी छिन्। एम.बि.एस. तर्फ शंकरदेव क्याम्पसका सुनिल पुडासैनी र सरस्वती बहुमुखी क्याम्पसकी समिता महर्जन पदकका लागि छनोट भएका छन्।

स्नातकोत्तर तहको राजनीतिशास्त्रमा प्रतिभा पौडेल, अर्थशास्त्रमा कमल पौडेल र एम.एस्सी. माइक्रोबायोलोजीमा रविन्द्र पण्डितले आ–आफ्नो विषयमा सर्वोत्कृष्ट स्थान हासिल गरी पदक पक्का गरेका छन्। साथै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा आयुष्मा थापा मगर, पुस्तकालय विज्ञानमा रस्मिता कार्की, पत्रकारितामा अनुशा रोका, कृषिमा श्रृष्टी पोखरेल र समाजशास्त्रमा सौरभ कोइरालाले पदक तथा पुरस्कार प्राप्त गर्नेछन्।

स्नातक तहतर्फ शंकरदेव क्याम्पसका फुर्वा शेर्पाले स्नातक तहको परीक्षामा सर्वोत्कृष्ट भई 'भाइस चान्सलर पदक' र 'भ्वाईथ सत्य माँ स्मृति स्वर्ण पदक' प्राप्त गर्ने भएका छन्।
यसैगरी, स्नातक तहका अन्य विधामा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्का उबेन्द्र कुमार तामाङ्ग (बि.एच.एम.), नेपाल ल क्याम्पसकी भावना अधिकारी (एलएल.बि.), ख्वप कलेज अफ इन्जिनियरिङ्गका गौरव भुसाल (बि.इ. सिभिल), पाटन संयुक्त क्याम्पसका आकाश सुयाल (बि.बि.एस.) ले पदक पाउनेछन्।

सेन्ट जेभियर्स कलेजकी अग्रनी पौडेल (बि.एस्सी. माइक्रोबायोलोजी) र के एण्ड के इन्टरनेशनल कलेजकी सुभाषी कार्की (बि.ए.) पनि पदक तथा पुरस्कारका लागि छनोट भएका छन्।