त्रिविको उपकुलपतिमा आवेदन दिन दलको सदस्य नरहेको स्वघोषणा पत्र बुझाउनुपर्ने

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, १५ : ३७
त्रिविको उपकुलपतिमा आवेदन दिन दलको सदस्य नरहेको स्वघोषणा पत्र बुझाउनुपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेदवारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्नेछ ।

कार्यविधिमा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ ।’ साथै त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई पनि दरखास्त दिनबाट वञ्चित गरिएको छ । जारी कार्यविधि अनुसार त्रिविको उपकुलपतिमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने छन् ।

सोमबार जारी कार्यविधिमा न्यूनतम योग्यतामा कुनै पनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने, उम्मेदवारको शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्ने उल्लेख छ । आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालय सम्बन्धी सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणमा १०० अङ्कमा प्रतिस्पर्धा गराइनेछ ।

विश्वविद्यालय सम्बन्धी सोचपत्र र कार्य योजनालाई ३५ पूर्णाङ्क छुट्टाइएको छ भने प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अङ्क तोकिएको छ । त्यस्तैगरी प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशन बापत ५ पूर्णाङ्क, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४ अङ्क, विद्यावारिधि योग्यताका लागि ५ अङ्क, प्राध्यापकको अनुभव भएको १० पूर्णाङ्कमा मुल्याङकन हुनेछ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

कार्यविधिमा उल्लेख भए अनुसार प्रतिस्पर्धीको आवेदनको मूल्याङ्कन गरेर अल्पसूचि प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचिमा परेकाबीच प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई त्रिविको उपकुलपतिमा नियुक्ति दिनेछन् ।

आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात् माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ । सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको छ । सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस