सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, ११ : १९
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी

File photo

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवा भोलि शुक्रबार काठमाडौं फर्किदैछन् । उनी गत कात्तिक १० मा उपचारका लागि श्रीमती डा आरजु राणा देउवा र एक सहयोगीसहित सिंगापुर पुगेका थिए । 

जनेजी विद्रोहका बेला गत भदौं २४ मा देउवा दम्पती आफ्नै बुढानिलकन्ठस्थित निवासमा निर्घात कुटिएका थिए । त्यसपछि नदेखिएका उनी गत असोज २८ मा कांग्रेस केन्द्रीय समिति बैठकमा पुगेर पूर्णवहादुर खड्कालाई कार्याबाहक सभापति दिएर निस्किएका थिए । 

त्यसपछि देउवाले करिव अब राजनीतिबाट विश्राम लिने तयारीमा रहेको टिकाटिप्पणी भईरहेको थियो । तर, प्रतिस्पर्धी पार्टी एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफनो सक्रियता झन् तीव्र बनाउन थालेपछि देउवा पनि फेरि आफै सक्रिय हुने तयारीमा जुटेका हुन् । 

ओली र प्रचण्डको जस्तो अब उनको कांग्रेस सभापतिकै रुपमा फेरि महाधिवेशन गरेर तेहेरिने सम्भाबना भने छैन । कांग्रेसको विधानमै दुई कार्यकाल मात्र सभापति हुन पाउने उल्लेख भएपछि उनले कांग्रेसको सभापति त छोड्छन् नै, तर त्यसवीचमा उनले अहिले गोलचक्करको भूमरीमा परिरहेको कांग्रेसलाई फेरि प्राण भर्न आफै सक्रिय हुने योजना बनाएका छन् । 

कांग्रेस विशेष महाधिवेशन गर्ने की नियमित महाधिवेशन ? त्यस्तो महाधिवेशन चुनाव अगाडीगर्ने की पछाडी, संसद पूर्नस्थापनाको माग लिएर अदालत जाने की चुनाव तयारीमा लाग्ने भन्ने गोलचक्करमा घुमिरहेको छ ।

पार्टीभित्रका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा मंसिर अन्तिमसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने अडानमा छन् । सस्थापन पक्षका पूर्व पदाधिकारीहरु एक स्वरमा विशेष महाधिवशेन पनि नहुने र नियमित महाधिवेशन पनि चुनाव पछि मात्र गर्ने बताईरहेका छन् । 

शेखर कोइरालाले भने मत विभाजन नहुने गरी चुनाव अगाडी नै विशेष महाधिवेशन गर्ने गरी मध्यमार्गी प्रस्ताव अगाडी सारिरहेका छन् । 

यसले कांग्रेस अनिर्णयको बन्दी बनिरहेको छ । विगतमा माओवादीकै जस्तो बैठक बालाएर महिनौं त्यही बैठकलाई निरन्तरतामा चलाईरहने शैलीको सिको ठ्याक्कै कांग्रेसको यो पटकको केन्द्रीय समिति बैठकमा देखिएको छ । सम्भबत कांग्रेसकै पार्टी जीवनको सबैभन्दा लामो समय चलेको बैठकका रुपमा अहिलेको बैठकलाई लिइँदैछ । 

पार्टी अनिर्णयको बन्दी बन्ने र महामन्त्रीद्दयको एउटा अडान र सस्थापन पक्षका पूर्व पदाधिकारीको अर्काे अडानमा कांग्रेस धुव्रिकृत हुँदै जादा पार्टीमा विभाजनको रेखा कोरिने डर पनि नेताहरुले देखिरहेका छन् । जसकाकारण देउवालाई सहजीकरणको भूमिका खेलिदिन फेरि नेताहरुले अनुुनय गर्न थालेपछि त्यही मौकामा देउवा फेरि राजनीतिमा कमब्याक हुने तयारीमा जुटेका हुन् ।

कांग्रेसले देउवाकै प्रतिक्षामा पार्टी बैठक लम्बाईरहेको छ । बैठकमा अझै एक उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्रीले धारणा राख्न बाँकी छ । 

देउवा फर्केपछि उनीसँग कार्यवाहक सभापतिले पार्टी बैठक भन्दा बाहिरै सुरुमा परामर्श गर्ने र मात्र के निर्णय लिने भन्ने तयारी भईरहेको छ । यसको अर्थ देउवालाई फेरि स्पेश दिने तयारीमै सस्थापन पक्षका नेताहरु देखिएका छन् । असोज २८ को पार्टी बैठकमा चुनावी तयारीको निर्देशन गरेर हिडेका देउवाले अहिले आफु निकट नेता श्याम घिमिरेमार्फत संसद पूर्नस्थापनाका लागि विघटित प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षर अभियान पनि चलाएका छन् । 

यसले पनि देउवा अब केही समय कार्यसमितिको म्याद थप गरेर संसद पूर्नस्थापनाको मुद्दामा केन्द्रीत हुने तयारीमा लाग्न सक्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस