नेपाली कम्युनिष्ट पार्टीसँग भीम रावलले गरेको ५ बुँदे सहमतिपत्रमा के छ ?

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०८२, ०९ : ०७
नेपाली कम्युनिष्ट पार्टीसँग भीम रावलले गरेको ५ बुँदे सहमतिपत्रमा के छ ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज दिउँसो काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सूदुरपश्चिमका प्रभावशाली नेता भातृभूमि जागरण अभियानका नेता भीम रावललाई पार्टीमा भित्राउँदै छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चितवनमा भएको दशौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई एमालेले गत वर्ष पुसमा पार्टीबाट निश्काशन गरेको थियो । ओलीसँग निरन्तर टक्कर लिईरहेपछि उनलाई एमालेले ओलीकै इच्छाका आधारमा निश्काशन निर्णय गरेको थियो । 

त्यसपछि रावलले मातृभूमि जागरण अभियान आफ्नै नेतृत्वमा चलाउँदै आएका थिए । गत आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायतका नेताहरु रावलको निवासमै पुगेर उनीसँग पार्टी एकताको छलफल चलाएका थिए । 

रावलले नेपाली कम्युनिष्ट पार्टीसँग मूलत पार्टीको राजनीतिक दस्तावेज लेखनको जिम्मेवारी दिन आग्रह गरेपछि प्रचण्ड माधव नेपालहरुले सहमति जनाउँदै उनलाई पार्टीमा भित्राउन सहमत भएका हुन् । 

उनी दिउँसो २ बजे काठमाडौंको राष्टिय सभा गृहमा आयोजना हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’  बाट नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्द हुँदैछन् । एकता गर्नु अगाडी रावलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालसँग ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

के छ ५ बुँदे सहमतिपत्रमा ?

रावल र नेपाली कम्युनिष्ट पार्टीका बीचमा भएको ५ बुँदे सहमतिपत्रमा उनको पदीय वरियता देखि उनले पार्टीमा पाउने भूमिकासम्मका विषय उल्लेख रहेको रावल निकट नेता हर्कबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार सहमतिपत्रका बुँदा यस्ता छन् :

१) नेपाली कम्युनिष्ट पार्टीको एकताको महाधिवेशन ६ महिनाभित्र आयोजना गर्ने ।
२) पार्टीको दस्तावेज लेखनको जिम्मेवारीको नेतृत्व भीम रावललाई दिने । उनको नेतृत्वमा राजनीतिक दस्तावेज लेखन टिम निर्माण गर्ने ।
३) पार्टीमा रावललाई छैटौं बरियतामा राख्ने । (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरियता दिने ।)
४) मातृभूमि जागरण अभियानका नेता कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा योग्यता, क्षमताका आधारमा उचित स्थान प्रदान गर्ने ।
५) नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीचमा पार्टी एकता गर्ने । एकता कार्यक्रम बृहत् पार्टी समायोजन कार्यक्रम’ का नाममा गरिने ।

रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश पछि सूदुरपश्चिममा एमालेलाई लाग्ने भयो झट्का

भीम रावल सूदुरपश्चिममा बलियो प्रभाव राख्ने नेता हुन् । कांग्रेसका सभापति शेरवहादुर देउवापछि सुदुरपश्चिमका मानिसहरुले रावललाई बलियो र भरपर्दाे नेताका रुपमा विश्वास गर्दथे । 

उनी विगतमा लामो समय नेकपा एमालेको राजनीति गरेर एमाले उपध्यक्ष सम्म भएका नेता हुन् । उनलाई गत वर्ष एमालेले कारवाही गरेपछि उनी निकट नेताहरु छिन्नभिन्न भएका थिए । तर रावलको नेकपा प्रवेशपछि उनीहरुमा उत्साह आएको छ । अव फेरि एकताबद्द हुने अवसर आएको भन्दै रावल निकट नेताहरु उत्साहित देखिएका हुन् । 

रावलको नेपाली कम्युनिष्ट पार्टी प्रवेशपछि सवैभन्दा क्षति एमालेलाई हुने देखिएको छ । सुदुरपश्चिममा रावलको प्रभाव बलियो रहेकोले उनी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि एमालेमा रहेका रावल निकट नेताहरु उनीसँग सम्वादमा देखिएका छन् । 

त्यसको प्रभावमा एमालेका केही नेता कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीतिर आर्कर्षित हुन सक्न विश्लेषण राजनीतिक बृतमा छ ।

प्रतिक्रिया दिनुहोस