काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र उनका भारतीय समकक्षी पीयूष गोयलबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उद्योग मन्त्री सिन्हा ३० औँ साझेदारी शिखर सम्मेलन २०२५ मा सहभागी हुन भारतको विशाखापटनम् जाँदै गर्दा आज भारतको वाणिज्य तथा उद्योग मन्त्रालयस्थित वाणिज्य भवनमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए । वार्ताको क्रममा दुवै मन्त्रीले नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्ने सम्बन्धमा विनिमय पत्र (एलओइ) आदान-प्रदान गरेका छन् । सो संशोधनपछि अब कोलकाता र विशाखापटनम्बाट विराटनगर-जोगवनीसम्म तथा कोलकाता र विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल र सडक मार्ग दुवै प्रयोग गरी सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने भएको छ ।
यसअघि ती नाकाबाट चार प्रकारका वल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न पाउने व्यवस्था थियो । संशोधनपछि सबै किसिमका सामान ढुवानी गर्न पाउने भएकाले पारवहन लागत र समय दुवै घट्ने तथा व्यापार सहजीकरणमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।
मन्त्री सिन्हाले भेटका क्रममा भारतीय मानक ब्युरोको प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्ने, पारवहन र व्यापार प्रणालीमा सुधार ल्याउने र विद्यमान छलफलहरूलाई निष्कर्षमा पुर्याउन जोड दिएका थिए । उनले भारतको “छिमेकी पहिला” नीतिको प्रशंसा गर्दै सो नीतिअनुसार दुवै देशबीच लगानी प्रवर्द्धन र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १८ : ०७
लेखकबाट थप