शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : केपी ओली

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, २१ : ०८
शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : केपी ओली

दमक। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उनले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरे ।

सरकारले राम्ररी काम पनि नगर्ने र राज्यलाई गर्न नदिने परिपाटीको विकास भइरहेको उनले आरोप लगाए । ओलीले आफू प्रधानमन्त्री हुँदा नारामात्रै दिएको नभई एउटा निश्चित गन्तव्यमा पुग्ने नीति, कार्यक्रम ल्याएको बताए । उनले एमालेको नेतृत्वमा स्थायी सरकार बनाउने प्रयास भए पनि त्यसलाई विभिन्न तत्वले रोकेको आरोप लगाए ।

एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताए । कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उनको भनाइ थियो । युवाहरू विदेश जानुका पछाडि सामाजिक मनोविज्ञान पनि एउटा कारण भएको बताउँदै उनले खेत बाँझो राखेर काम पाइनँ भनेर बाहिर जाने, क्याम्पस खाली हुने र विद्यार्थी पढ्न पाइनँ भनेर विदेश जाने परिपाटी हुन नहुने बताए ।