मुस्ताङमा स्याउ टिप्न सुरु

रासस

मंगलबार, ०२ असोज २०८०, १३ : ३२
मुस्ताङमा स्याउ टिप्न सुरु

पोखरा । मुस्ताङमा स्याउ टिप्ने कार्य सुरु भएको छ । यस क्षेत्रमा उत्पादन भएको स्याउ पोखरासहित अन्य बजारमा बिक्रीका लागि जाने क्रम पनि सुरु भएको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएको स्याउ यसपटक असोजबाट टिप्न सुरु भएसँगै अन्य बजारमा बिक्री–वितरण गर्न सुरु भएको हो । तल्लो तटीय क्षेत्रको स्याउ बिक्रीका लागि पोखरासहितको बजारमा बिक्री हुन थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए । यसपटक मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले असोज १ पछि मात्र स्याउ टिप्न अनुमति दिइएको हो ।

मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यो वर्ष स्याउ उत्पादनमा कमी आउने बस्ताकोटी बताउँछन् । जलवायु परिवर्तनका कारण यसपालि फूल फुल्ने समयमा पानी परेका कारण परागसेचन (पोलिनेसन) हुन नपाएको हुँदा गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादन करिब ३० प्रतिशत घट्न सक्ने प्रमुख बस्ताकोटीले बताए । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउँपालिका बाह्रगाउँ मुक्तिक्षेत्र, लोमाङथाङ र लो घेकर दामोदरकुण्डमा सामान्य रूपमा स्याउ उत्पादनमा कमी हुनेछ ।

बस्ताकोटीका अनुसार मुस्ताङ क्षेत्रमा गत वर्ष करिब ६० करोड मूल्यबराबरको स्याउ बिक्री भएको थियो । मुस्ताङको स्याउमा होलसेल मूल्यबाट आम सर्वसाधरणले खरिद गर्दा भने करिब दोब्बरजस्तो मूल्य पर्न गएको छ । हाल मुस्ताङ क्षेत्रका होलसेल पसलमा स्याउ प्रतिकेजी १ सय ८० रुपैयाँमा बिक्री भएको छ भने पोखराको बजारमा सामान्यतया २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री हुन थालेको छ । मुस्ताङमा खुद्रा रूपमा खरिद गर्दा प्रतिकेजी २ सय रुपैयाँमा स्याउ बिक्री हुन थालेको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका पाँचवटै पालिकाका प्रमुखसहितको छलफलबाट असोज १ गतेभित्र मुस्ताङमा स्याउ टिप्न नपाइने निर्णय गरेसँगै मुस्ताङमा उत्पादन भएको स्याउ असोज १ गतेबाटै पोखरासहितका अन्य बजारमा जान थालेको हो । राम्रोसँग पुष्टिन नपाउँदै मुस्ताङका किसानले उत्पादन गरेको स्याउ बजारमा जाने गर्दा स्याउको गुणस्तरमा ह्रास आएको र किसानले उचित मूल्य नपाएकाले गर्दा उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताए ।

मुस्ताङमा उत्पादन हुने स्याउ भदौदेखि नै बजारमा पठाउने हुँदा मुस्ताङको स्याउमा राम्रोसँग रस नपस्ने गरेकाले गुणस्तरमा ह्रास आएकोले यसको गुणस्तर कायम गर्न पनि उक्त निर्णय मान्य गरेको प्रमुख गुरुङले बताए । यो वर्ष मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तरलाई कायम गर्न भदौअघि स्याउ टिप्न जिल्लाका पाँचवटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको उनले बताए । समितिको गत साउन १९ गते बसेको बैठले उक्त निर्णय गरेको थियो ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड डेलिसियस, रोलय डेलिसियसलगायतका जातको स्याउ खेती हुँदै आएको छ भने २ हजार ५ सयभन्दा माथिको उचाइमा उत्पादन भएको मुस्ताङको स्याउ अन्यभन्दा केही गुणस्तरको हुने गरेको स्थानीयले बताए । मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर असोज दोस्रो साताबाट मात्र हुने हुँदा समितिले गरेको उक्त निर्णय उपयुक्त भएको स्थानीय किसान शान्तिमाया तामाङले बताए ।

यसपटक आफूले डेढ लाखको स्याउ बिक्री गर्ने लक्ष्य राखेको बताउँदै उनले असोजको १५ पछि मात्र स्याउ टिप्ने योजना भएको सुनाए । गत वर्ष मुस्ताङमा ६ हजार ५ सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको प्रमुख बस्ताकोटीले बताए । मुस्ताङका स्याउ बगैंचामा राम्ररी नपाक्दै बजार पुर्‍याउने अवस्थाले गर्दा गुणस्तर र राम्रोसँग त्यसले आकार ग्रहण नगरेको, राम्रोसँग रस नपसेको समस्या हुने गरेको थियो । मुस्ताङका पाँच स्थानीय तहमा करिब १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ ।