मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् ।
यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला मुस्ताङमा समरस्थित समर आधारभूत मतदान स्थलपछि वारागुङ मुक्तिक्षेत्र–५ साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका—४ जोमसोमको जनहित मतदान केन्द्रमा छन् । उक्त केन्द्रमा ६८९ जना मतदाता छन् । विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कूल ११ हजार ३२८ जना मतदाता कायम भएका छन् । घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा आठवटा, लोघेकर दामोदरकुण्डमा १० वटा ,वारागुङ मुक्तिक्षेत्रमा नौवटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् ।
मुस्ताङको घरपझोङमा कूल दुई हजार ४९२ मतदाता छन् । जनहित मतदान केन्द्रमा ६८९ जना र छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता छन् । थासाङ गाउँपालिकामा दुई हजार ९०७ जना मतदाता छन् । जसमध्ये सबैभन्दा बढी जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ जना र सौरु आधारभूत विद्यालय सौरुमा सबैभन्दा ६५ मतदाता छन् ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक हजार ५४२ जना मतदाता छन् । जसमध्ये लोघेकर—१ चराङस्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ र ढि आधारभूत विद्यालय मतदान केन्द्रमा ७० जना मतदाता छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई हजार ३७६ जना मतदाता छन् । जसमध्ये जनशान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना र सबैभन्दा कम समर आधारभूतमा ३६ जना मतदाता छन् । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् । जसमध्ये राष्ट्रिय आधारभूत विद्यालयमा ६२० जना र दिव्यज्ञान आधारभूत चुमजुङमा १३६ जना मतदाता छन् ।
निर्वाचन आयोगले बदर मत संख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले यहाँका पाँच पालिकाले सिफारिस गरेका मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिलाई प्रशिक्षक तालिम बुधबारदेखि सुरु हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा सात मतदानस्थल थपिए
नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस