मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए ।
राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ ।
भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ ।
यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ ।
विसं २०७३–७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो ।
यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
उपल्लो मुस्ताङमा पनि सप्रिन थाल्यो स्याउखेती, किसानलाई बिरुवामा अनुदान
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’