मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, १३ : ०५
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चार वर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्यांकअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।

कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् । 

हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पुर्‍याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वटा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।

यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९/८० मा ३१, आव २०८०/८१ मा ५६, आव २०८१/८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पुर्‍याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा रु ६० हजार र भेँडाच्याङ्ग्राको बढीमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताए।