चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

रासस

शुक्रबार, १८ पुस २०८२, १० : ४३
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका निम्ति बन्द गरिएको छ । माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा सञ्चालन गर्न बेँसीमा झारिन्छ । तल्लो र मध्य मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा बन्द गरिन्छ ।

अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालित सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका निम्ति हिउँदे बिदा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए ।

उनका अनुसार, माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिकअगावै घुम्ती कक्षा चलाउन बेँसीमा झारिएको छ । बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द गरिएको छ ।

तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन सञ्चालन गरिने उनले बताए । माथिल्लो मुस्ताङका शैक्षिक संस्थाले विद्यार्थीलाई बेँसीको पारिलो स्थानमा राखेर पठनपाठन सञ्चालन गरिरहेको एकाइ प्रमुख लामिछानेले उल्लेख गरे ।

जाडो मौसममा सम्भावित हिमपात र अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पुग्न सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाले हिउँदयाममा दुई महिना विद्यालय बन्द गरेर बिदा दिने चलन छ ।