लुम्बिनी केबलकार उद्घाटन गर्न आज बुटवल जाँदै प्रधानमन्त्री

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, ०९ : ४३
लुम्बिनी केबलकार उद्घाटन गर्न आज बुटवल जाँदै प्रधानमन्त्री

काठमाडौ । लुम्बिनी केबलकारको उद्घाटन गर्न आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल जाँदै छन्। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको हो। 

केबलकार उद्घाटनका लागि प्रधानमन्त्री अहिले बिहान ९ बजे काठमाडौंबाट बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ।

कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ। 

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउने छ। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

भारतका गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। 

केबलकार र रिसोर्टसहितको आयोजनाको कूल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन्।

मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस