नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने प्रयास भइरहेको छ : केपी ओली

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १३ : ४८
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने प्रयास भइरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष  र तटस्त छानबिनको  माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यो प्रकरणमा दोषीलाई उम्काउन खोजिएको भन्दै आशंका व्यक्त गरे।

उनले भने, 'दोषीलाई उम्काउने कोशिस भइरहेको छ। निर्दोषलाई फसाउने प्रयास भइरहेको छ। यो कुरा बन्द गरियोस्। दोषीमाथि कारबाही दृढताका साथ अघि बढाइयोस्।उनले घटनाको अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए। राजतीनिक अभिष्ट साध्नका लागि निर्दोषलाई फसाउने काम अपराध भएको बताए।  नक्कली भुटानी शरणार्थी प्रकरणमा अझैं आगो बल्ने उनको भनाइ छ । ओलीले भने,'आगो लागेपछि छोप्न सकिन्छ तर धूँवा छोप्न सकिदैन।'

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसअघि जेठ २९ मा परेको निवेदनमा पक्राउ परेकाहरूलाई किन छोडियो ? भन्दै प्रश्न गरे। उनले भने, 'पुलिसले छोडेको होइन। छोड्न बाध्य बनाइयो। ढाकछोप गर्ने दुष्साहस नगरियोस्।'

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको बताए। ‘गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ?’ओलीले प्रश्न गर्दै भने, ‘भुटानी शरणार्थी प्रकरण आफैं विस्फोट भएर आयो, भुइँचालो आफैं आयो,यो रोक्न सकिदैनथ्यो,छेक्न सकिदैनथ्यो।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री,पूर्वगृहमन्त्रीदेखि बहालवाला सचिव गरी १६ जना पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायत १६ जना प्रहरी हिरासतमा छन्। 

पक्राउ परेकामाथि ५५ दिन अनुसन्धान गरेर प्रहरीले आजै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। पक्राउ परेकाहरूले  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ।

 

प्रतिक्रिया दिनुहोस