भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १५ : ५०
भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

वासिङ्टन । भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन् । गत बुधबार वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो । भारतका रक्षा सचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा भारत–अमेरिका रक्षा साझेदारीको प्रगति समीक्षाका साथै त्यसलाई अझ घनीभूत तुल्याउनेबारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । सचिवद्वयले भारत–अमेरिका रक्षा नीति समूहको १७ औँ बैठकको सहअध्यक्षता पनि गरेका थिए । 

रक्षा मन्त्रालयका अनुसार बैठकमा भारत–अमेरिका सैन्य सहायता, द्विपक्षीय प्रतिरक्षा सम्झौताको कार्यान्वयन, हिन्द महासागर क्षेत्रमा जारी सैन्य अभ्यास, साझेदारीका भावी परियोजनाका महत्वपूर्ण पक्षमा छलफल भएको थियो । प्रविधि साझेदारी, दीर्घकालीन अनुसन्धान र विकास, आपूर्ति शृङ्खला, सुरक्षा सुधारलगायत प्रतिरक्षा तथा औद्योगिक सहयोग अभिवृद्धिमा छलफल केन्द्रित थियो । 

प्रतिरक्षासँग सम्बन्धित भारतीय र अमेरिकी प्रतिष्ठानहरूले मिलेर काम गर्न सक्ने सम्भावित क्षेत्र र परियोजनासहित भारतमा सह–विकास एवम् सह–उत्पादनलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजी र सरकारी क्षेत्रबीचको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै नवप्रवर्तनका परियोजनामा मिलेर काम गर्न दुवै पक्षले सहमति जनाएका छन् । 

अमेरिकी र भारतीय रक्षा मन्त्रालयबीचको सरकारी संयन्त्र रक्षा नीति समूहले प्रतिरक्षा नीतिमा विशेष ध्यान दिँदै द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सबै पक्षको व्यापक समीक्षा गर्दै आएको छ । समूहका सुझाव र मार्गदर्शनलाई दुवै पक्षले पालना गर्दै आएका छन् । 

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अमेरिका भ्रमणललाई लिएर नयाँदिल्ली र वासिङ्टनबीच झाङ्गिदै गएको सुम्बन्धको चर्चा गरेका छन् । आगामी असार ७ गते देखि प्रधानमन्त्री मोदी अमेरिकाको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । भारतसँगको अमेरिकाको साझेदारी र सम्बन्ध प्रभावकारी रहेको बताउँदै प्रवक्ता पटेलले  मोदीको भ्रमणबाट अमेरिका– भारत सुरक्षा सम्बन्ध अझ सुदृढ हुने बताए । 

प्रतिक्रिया दिनुहोस