त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि भौतिक आक्रमणको प्रयास

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १२ : ३१
त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि भौतिक आक्रमणको प्रयास

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक युवराज लुइँटेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । आफूलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै विष्टले विभागीय प्रमुख लुइँटेलमाथि भौतिक आक्रमणको प्रयास भएको हो ।

विभागका आंशिक शिक्षक ललित विष्टले सहप्राध्यापक लुइँटेलमाथि आक्रमण र ज्यान मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।विष्टले विभागीय प्रमुख लुइँटेललाई पटक-पटक डर,धम्की र त्रास दिँदै आएको विभागीय प्रमुख लुइँटेलको उजुरीमा उल्लेख छ । विष्टविरुद्ध मुलुकी अपराध संहिता,२०७४को दफा ११८ (अभद्र व्यवहार गर्न नहुने)बमोजिम जिल्ला प्रहरी कार्यालय परिसरमा हदैसम्मको कारबाही माग गर्दै उजुरी परेको हो ।

अछामको पञ्चदेवल विनायक नागरपालिका–४का स्थायी घर भएका विष्टले गत वैशाख १३ गते विभागीय प्रमुखको कार्यालयमा आफूलाई करारमा शिक्षक नियुक्ति किन नगरेको भन्दै कुटपिट गर्ने बदनियत राखेर निकै छुद्र अभद्र एवं अमार्यदित तरिकाले प्रस्तुत भएको पीडित सहप्राध्यापक लुइँटेलले बताए । विष्ट तुच्छ भाषा प्रयोग गर्दै गालीगलौज तथा झुठा आरोप लगाएर भौतिक आक्रमणमा उत्रिएको लुइँटेलको उजुरीमा उल्लेख छ ।

जुन दृष्य सीसीटीभी फुटेजमा पनि कैद भएको छ । यो घटना गत १३ वैशाखको हो ।