नेपाल वायुसेवा निगम अझै विश्वसनीय भएन : प्रदीप पौडेल

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १६ : २७
नेपाल वायुसेवा निगम अझै विश्वसनीय भएन :  प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन् । नेपाल वायुसेवा निगम कर्मचारी सङ्घको नवौँ केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  पौडेलले वायुसेवा निगमका जहाजहरू अझै पनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरूमा धेरै समस्या देखिएको बताए ।उनले भने, ‘आज प्रतिस्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनीय बनाउन सकेको छैन । ठ्याक्कै व्यवहारिक ढङ्गबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरू तोकिएको समयमा कमै उड्छन् । अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरूले मात्रै यो टिकट काट्ने परिस्थिति हो कि जस्तो देखिन्छ ।

त्यसैले यसलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरिनुपर्छ ।’ उनले भने अझै पनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरूले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए । नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाङ्ग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । पौडेलले भने, ‘पाङ्ग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका सहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढङ्गबाट अघि बढाउन जरुरी छ ।

यसको व्यवस्थापन पक्षमा धेरै त्रुटिहरू देखिन्छ ।’उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कदम चाल्न नसकेको गुनासो गरे ।उनले भने, ‘सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गतिविधि र समस्याहरू भएका छन् । कसैले संस्थाको अहितमा निर्देशन गर्छ भने त्यसलाई नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’सांसद पौडेलले श्रमजीवीका खास समस्या सम्बोधन गर्न अझै नसकिएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस