कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०८२, १० : २२
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै पौडेलले यसले आशङ्का जन्माएको जिकिर गरेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशङ्का र उपशङ्का जन्माएको छ, सामाजिक सञ्जालमा उनले भने ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन भन्दै उनले यसले यक्ष प्रश्न खडा भएको बताए । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ?,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।

महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् ।

‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस