एमालेबाहेक अन्य दलले विकास गर्न सक्दैन : केपी ओली

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १५ : ३५
एमालेबाहेक अन्य दलले विकास गर्न सक्दैन : केपी ओली

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसका जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाएका छन् । बुधवार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने बताए । ओलीले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न समेत गरे ।  ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन्’, ओलीले भने, ‘बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको बताए । ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो । माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भने, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै...त्यो खालको भूमिका पनि देखियो । कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षडयन्त्र अन्त गएर गर्नुपर्छ । अहिले उहाँ देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ उहाँ ।’ अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने गरेको बताए ।