भरतपुर महानगरले तत्काल डोजर नचलाउने

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १४ : २५
भरतपुर महानगरले तत्काल डोजर नचलाउने

चितवन । चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएका अवैध संरचना भत्काउने ३५ दिने सूचना जारी गरेको समय गुज्रिएको छ । तर, महानगरपालिकाले भने अवैध संरचनाहरुमा तत्काल डोजर चलाइहाल्ने सोच बनाएको छैन ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन् । उनले अवैध संरचनाहरुको लगत संकलनको काम वडा–वडाबाट भैरहेकाले त्यसपछि भत्काउन थाल्ने बताइन् । वडा–वडाबाट डाटा आएपछि प्राविधिकहरु पठाएर सडक सीमा एकिन गरेर चिह्न लगाउने र त्यसपछि आफैंले भत्काउन घरधनीलाई प्रोत्साहन गर्ने नगर प्रमुख दाहालले बताइन् । ‘मापदण्ड मिचेर बनेका घर तथा संरचना एकिन गरेपछि चिह्न लगाएको क्षेत्र भित्र जनता आफैंलाई भत्काउन उत्प्रेरित गर्ने सोच छ,’ नगर प्रमुख दाहालले भनिन्, ‘अहिल्यै नै डोजर लिएर भत्काउने हिँड्ने सोच छैन, पहिला मार्किङ्ग गछौं, अनि भत्काउन भन्छौं, अहिले नै अन्धाधुन्ध भत्काउँदैनौं ।’

अवैध संरचना भत्काउने बारेमा महानगरपालिकाको एकीकृत धारणा बनाएर निर्णय गरिने नगर प्रमुख दाहालको भनाइ छ । पहिला बनेर निर्माण सम्पन्नको प्रमाणपत्र लिएका र नक्सापास गरेका घर तथा संरचनाहरु नभत्काउने नगर प्रमुख दाहालको भनाइ छ ।

सडक विभागले नारायणगढ बजार क्षेत्रमा सडक सीमा मिचेर बनेका संरचनाहरु धमाधम भत्काएपछि महानगरपालिकाले सोही अनुसार भत्काउने त्रास पैदा भएको छ । कतिपयले महानगरको सूचना पछि आफैंले सडक सीमा मिचेर बनेका संरचनाहरु धमाधम भत्काउन थालेका छन् । सार्वजनिक जग्गा मिचेर बनेका संरचना, सडक क्षेत्राधिकार बनेका संरचनाहरुलाई भत्काउने काम महानगरपालिकाबाट हुने नगर प्रमुख दाहालले बताइन् ।

अवैध संरचना भत्काउन स्थानीयलाई समय दिने सोच महानगरपालिकाले बनाएको छ । महानगरले ३५ दिनको समय दिएर सार्वजनिक जमिनमा स्वीकृति नलिई बनाइएका, सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएका र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना भत्काउन निर्देशन दिएको थियो । महानगरले दिएको समय सोमबार सकिएको छ ।

प्रतिक्रिया दिनुहोस