फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०८२, १३ : २६
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित

भरतपुर । भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। यसका लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न महानगरले आवश्यक तयारी अघि बढाएको हो।

महानगरपालिका-११ स्थित करिब १६ बिगाहा राष्ट्रिय वन क्षेत्रको भोगाधिकार प्राप्तिका लागि आवश्यक रकममध्ये थप तीन करोड रुपैयाँ कार्यपालिकाबाट विनियोजन गरिएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले जानकारी दिए।

यसअघि नै महानगरले जग्गा उपयोग तथा वृक्ष व्यवस्थापनसँग सम्बन्धित शर्तअनुसार पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएपछि मात्र थप प्रक्रिया अघि बढाउने जनाएअनुसार आवश्यक विवरण र कागजात पेश भइसकेको महानगरले जनाएको छ।

पर्यावरणीय स्वीकृतिपछि रूख कटान प्रक्रिया अघि बढाइने मन्त्रालयले आश्वासन दिएको छ। वन क्षेत्र प्रयोग गर्दा एक रूख कटानको सट्टा दश बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षण गर्ने दायित्वसमेत महानगरले बहन गर्नुपर्नेछ।

वातावरण महाशाखाका प्रमुख विराट घिमिरेका अनुसार रोपिएका बिरुवाको संरक्षणका लागि थप एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

हाल महानगर क्षेत्रमा दैनिक ८० टनभन्दा बढी फोहोर संकलन हुने गरेको छ। उक्त फोहोर हाल आँपटारी नजिकको खोल्सामा व्यवस्थापन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस