के छ भरतपुरमा खानेपानीको अवस्था ?

सुजन अधिकारी

मंगलबार, २० मंसिर २०७९, १४ : २२
के छ भरतपुरमा खानेपानीको अवस्था ?

चितवन । भरतपुर महानगरपालिकामा ४ वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार अहिले खानेपानी प्रयोग गर्ने घरधुरी ३५ हजार घरधुरी पुगेका छन् । यो सँगै खानेपानी पिउने जनसंख्या २ लाख ३५ हजार जना पुगेका छन् । अहिले दैनिक ३ लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एव्म मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ ।

महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको पाईन्छ ।भरतपुर महानगरपालिकाले ७ हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशूल्क व्यवस्था छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशूल्क खानेपानी उपलब्ध गर्ने निर्णय गरेकी थिइन् ।नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहुँचलाई तीब्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेको उनको भनाई छ ।भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डिपिआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।  

तीब्र सहरीकरण भईरहेको भरतपुरमा खानेपानीको वर्तमान अवस्था यस्तो छ :

भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं।९,११ र १२ सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं। २२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु ३ करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी रु ४ करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित पाईपलाईन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।

यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी रु ३ करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड टंकी र डिप वोरिङसहित पाईपलाईन विस्तार भई आयोजना सञ्चालनमा आएको छ ।यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सह–लगानीमा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित करिव ७२ कि.मी.पाईपलाईन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी  खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।  

यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु २ करोडको सर्वेक्षण सम्पन्न भई डिपीआर तयारी भई प्रकृया अगाडि बढेकोे छ ।यस्तै भरतपुर महानगरपालिका वडा न.१५ को फुलवारी खानेपानी आयोजना रु२ करोड ६९ लाखको हस्तान्तरण लिई १० कि.मि. पाईपलाईन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत एडिबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डिपीआर तयार हुने सम्झौता भएको छ ।

यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाईपलाईन विस्तार गरि सेवा वृद्धि गरिएको छ ।प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर रु २ करोड ७१ लाखको आनन्दपुर रु २ करोड ४९ लाखको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाईपलाईन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएको सञ्चालनमा आएको छ ।
     

प्रतिक्रिया दिनुहोस