विभिन्न ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ११ : ४०
विभिन्न ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । सुनसरी, झापा र उदयपुरमा भएका विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । 

सुनसरीको ईटहरी उपमहानगरपालिका–१७ पककी चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१२ चौकी मोडस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल ईटहरी उपमहानगरपालिका–१२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् । हिजो बेलुका पौने ५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घट्ना हुँदा उनको मृत्यु भएको हो । 

यता, झापाको कनकाई नगरपालिका ८ स्थितमा रहेको पिकनिक स्पोर्टमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलीको ६ वर्षीय छोरा सर्वजित ओली रहेका छन् । हिजो दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । बेपत्ता बालकको शव खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा भेटिएको छ। 

उता, उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। हिजो बेलुका साढे ६ बजे अजय मल्लिक र उनकी श्रीमती पुनिता मल्लिकले सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार टाँगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका अजयकी श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे उनको मृत्यु भएको हो ।