इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

सफल खबर संवाददाता

शनिबार, २७ असार २०८३, १६ : १०
इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन् ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएका जनाएका हुन् । यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको—संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हत्या गर्ने वा हत्याको प्रयास गर्ने-धम्कीलाई कार्यान्वयन गर्‍यो भने, त्यसको लगत्तै हजारौँ थप क्षेप्यास्त्रहरू प्रहार गरिने उनले बताए ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाए ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले इरानले अहिले सम्म आफ्नो प्रतिबद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमहरूको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताए ।

अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकहरूले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताए । गर्मीको मौसमको प्रवाह नगरी, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षकहरू देशका तट, टापु, सिमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ रही अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारे ।

यसैबीच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबीचको वार्ता फलदायी रहेको बताएका छन् ।

अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्तहरू पूरा हुनु पर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्तहरू मान्न सहमत हुनुपर्छ र सबै आणविक सामग्रीहरू हस्तान्तरण गर्नु पर्ने अडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस