काठमाण्डा । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएको छ । पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले पार्टीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष-उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन् ।
संविधानले नेपाललाई समाजवाद उन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनको निर्देशन थियो । ‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवाश लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो । यसमा हामी स्पष्ट हुनुपर्छ ।’ पुनले तीनवटै सरकारले संविधानको मर्मअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभूताको ग्यारेण्टी गर्ने गरी काम गर्नुपर्ने स्पष्ट गरे । पुनले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए ।
जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरुलाई बल पुग्ने गरी भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिए । ‘कम्तिमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौं’, उनले भने, ‘हामीले चलाएका पालिकाहरुलाई कुनै न कुनै काममार्फत नमुना बनाऔं ।’ तर, सस्तो लोकप्रियताका लागि राज्य श्रोतको परिचालन नगर्न जनप्रतिनिधिलाई उनले सुझाए । स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनले बताए ।
पार्टी जनयुद्धबाट आएकाले जनयुद्धसँग सम्बन्धित कार्यक्रमहरु जनयुद्ध दिवस, घाइते÷अपाङ्गको निःशुल्क उपचार, शहीद परिवारलाई राहत र रोजगारी दिनु आफूहरुको दायित्व भएकाले बजेटमा ती विषय नछुटाउन पनि पुनले निर्देशन दिए । यस्तै समग्र लोकतान्त्रिक आन्दोलनका योद्धाहरुलाई फोकस गरेर कार्यक्रम ल्याउन पनि भने ।
फरक प्रसंगमा पुनले कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र नेपाली अर्थतन्त्र पनि त्यसको मारमा परेको बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले चुलिँदो वैदेशिक व्यापार घाटा, बैंकिङ क्षेत्रले कोरोनाकालमा सहुलियतमा जारी गरेको कर्जा र पुनकर्जा कार्यक्रमको रकम व्यवसायीले खराब लगानीमा खर्चिएका कारण पनि अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गरे । विप्रेषण आप्रवाहमा कमी, आयातमा वृद्धि, हुण्डीसहित अवैध माध्यमबाट कारोबार, बढ्दो सोधनान्तर घाटा, उच्च मूल्य वृद्धि, घट्दो वैदेशिक मुद्रा सञ्चितीले समग्र अर्थतन्त्र र जनजीवनमा गम्भीर प्रभाव पारेको बताए ।
पुनले पछिल्लो समय शेयर बजार मापक नेप्से परिसूचक लगातार आरोलो लाग्नु पनि सुखद नभएको बताए । एक वर्षअघि ३२ सय बिन्दुमा रहेको नेप्से १ हजार ९ सय बिन्दुमा झरेको भन्दै उनले लगानीकर्ता निराश भएको बताए । आगामी दिनमा व्यापार घाटा र बैंक तथा वित्तिय संस्थाको खराब कर्जा थप बढ्नुका साथै खाद्य संकट उत्पन्न हुनेतर्फ सरकार समयमै गम्भीर हुनुपर्नेमा उनले जोड दिए । रुस–युक्रेन युद्धपछि ६० भन्दा बढी मुलुकले खाद्यान्न निर्यातमा रोक लगाएको चर्चा गर्दै उनले अफ्रिका महादेश खाद्य संकटको चपेटामा परिसकेको बताए ।
नेपाल पनि सम्भाव्य खाद्य जोखिममा पर्न सक्ने संकेतहरु देखिएको पुनले उल्लेख गरे । कार्यक्रममा माओवादीले जितेका १ सय २२ पालिकाका प्रमुख तथा उपप्रमुखका साथै प्रदेश समितिका इन्चार्च÷अध्यक्ष, सातवटै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री तथा पार्टी प्रदेश आर्थिक विभागका प्रमुखहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने
दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई माओवादीको प्रश्न
सरकारले सदनलाई हेपेको माओवादीको आरोप