जर्नादनलाई गृहजिल्लामै लाग्ने भयो झट्का !

रुकुम पश्चिम जिल्ला संयोजक देखि कर्णाली प्रदेश अध्यक्षसम्मकै छैन साथ

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, ०९ : ३१
जर्नादनलाई गृहजिल्लामै लाग्ने भयो झट्का !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित आठ बाम दलले गर्न लागेको पार्टी एकीकरणमा असहमति जनाउँदै नयाँ पार्टी पर्नूगठनको तयारीमा लागेका जनार्दन शर्मालाई आफ्नै गृहजिल्लामा झट्का लाग्ने भएको छ ।

माओवादी पार्टीभित्रै रहेर जनार्दन शर्माले फरक मत राखिरहँदा भने उनलाई गृहजिल्लाका पार्टी नेताहरुले दरिलो साथ दिएका थिए । तर पार्टी नै विभाजन हुने र जनार्दन शर्मा एकीकृत समाजवादीसहितको एकतामा नजाने भएपछि उनीहरुले जनार्दनसँग भने नबस्ने घोषणा गरेका छन् । यसरी घोषणा गर्नेमा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, रुकुम पश्चिमका पार्टी संयोजक सचिन रोका र प्रदेश सभा सदस्य गोपाल शर्मा (अनल) लगायत छन् । 

रुकुम पश्चिम जिल्लाका संयोजक गोविन्द रोका (सचिन)ले सामाजिक सन्जालमै ७ वर्ष पहिले आफैले नेकपा बनाउँदा खेलेको भूमिका, पार्टी नाम र चुनाव चिन्ह्र फेर्न पार्टी बैठकमा आफैले राखेको प्रस्ताव ठिक तर अहिले एकता प्रक्रिया किन गलत ? भन्दै जनार्दनसँग प्रश्न गरेका छन् । 

‘माओवाद त्यागेर जनताको जनवाद मा जाने निर्णयमा हस्ताक्षर उहिल्यै ९७ वर्ष पहिले) गरिसक्नुभएको थियो । पार्टी नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव पनि २०८० फागुनको विधान महाधिवेशनमा राख्नुभएकै थियो । आफूले प्रस्ताव राख्दा र आफूले हस्ताक्षर गर्दा ठिक सोही कुरामा पार्टीले निर्णय गर्दा र प्रचण्डले हस्ताक्षर गर्दा चाँहि गलत कसरी भयो हजुर ? सचिन रोकाले सामाजिक सन्जाल फेसबुकमार्फत जनार्दनसँग प्रश्न गरेका छन् । 

यस्तै अर्का नेता गोपाल शर्माले पनि विभाजनको गल्ती नदोहोराउन आग्रह गरेका छन् । ‘आदरणीय कमरेड,

हजार तर्क दिदा पनि टुटफुट र विभाजनका कदमहरु न हिजो प्रमाणित भएका छन् न भविष्यमा नै प्रमाणित हुनेछन् । तसर्थ मेरो विनम्र अनुरोध छ, इतिहाँसबाट शिक्षा लिई यस्तो गल्ती नदोरयाऔं !’ शर्माले सामाजिक सन्जालमा भनेका छन् ।

प्रदेश अध्यक्ष विमला केसीले त नयाँ एकतापछि बन्ने पार्टीको चुनाव चिन्ह्र नै कभर पृष्ठमा राखेर एकताको पक्षमा आफुलाई खुलाईसकेकी छिन् । 

यस अगाडी जनार्दनले पार्टीभित्रै रहेर संर्घष गरिरहँदा भने रुकुम पश्चिमका नेताहरुले जनार्दनको अभियानमा साथ दिने बताएका थिए । उनीहरुले त्यसका लागि पार्टीभित्र आन्तरिक सर्कुलर समेत जारी गरेका थिए । तर अहिले विभाजन गर्ने नितिमा जनार्दन लाग्दा उनीहरुले टुटफुटमा भने साथ दिन नसक्ने बताउन थालेका हुन् । 

आफ्नै गृहजिल्लाका नेताहरुले आफुलाई साथ देलान् भन्ने जनार्दनलाई लागेको थियो । तर, अन्तिम निर्णायक घडीमा भने विभाजनमा नलाग्ने बताएपछि उनलाई झट्का लागेको हो ।

प्रतिक्रिया दिनुहोस