राप्रपाको ‘डबल डिल’

ओलीको गृहनगरमा गठबन्धनलाई साथ, भरतपुरमा एमालेसँग मिलायो हात

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, ०८ : ०८
ओलीको गृहनगरमा गठबन्धनलाई साथ, भरतपुरमा एमालेसँग मिलायो हात

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तह निर्वाचनको तालमेलमा दोहोरो भूमिकामा देखिएको छ। उसले सत्तापक्ष र प्रतिपक्ष दुवैसँग चुनावी तालमेल गरेर ‘डबल रोल’ अपनाएको हो। राप्रपाले भरतपुर महानगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पाँचदलीय गठबन्धनसँग तालमेल गरेको छ।

दमकमा २०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो। दमकमा दोस्रो शक्तिको रुपमा राप्रपा छ। यस्तै माओवादी तेस्रो र कांग्रेस चौथो स्थानमा छन्। ओलीको गृहनगर भएका कारण पनि यो निर्वाचन एमालेका लागि प्रतिष्ठाको विषय बनेको छ। गठबन्धनका कारण दमकमा एमालेलाई विजय सजिलो छैन् ।

०७४ को निर्वाचमा एमालेबाट निर्वाचित मेयर रोमनाथ ओली १० हजार ८०६ मत ल्याएका थिए। राप्रपाका राम थापा सात हजार ६५५ मतसहित दोस्रो स्थानमा आएका थिए। माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत प्राप्त गरेका थिए। उक्त मत परिणामका आधारमा हेर्दा यो पटक सत्ता गठबन्धनलाई सहज जितको बाटो खुलेको छ। गठबन्धनले दमकमा राप्रपाका उम्मेदवारलाई मेयरमा उठाएको छ ।

गठबन्धनबाट राप्रपाका राम थापा मेयरका उम्मेदवार हुन्। उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई छन्। एमालेले गीता अधिकारीलाई  मेयरमा उम्मेदवार बनाएको छ । स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गरेको राप्रपाको भनाई छ। पार्टीलाई कसरी अधिकतम जित नजिक पुर्याउने भन्ने आधारमा चुनावी तालमेल अपनाएको राप्रपा चितवनमा एमालेसँग देखिएको छ ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले–राप्रपाबीच चुनावी तालमेल छ। भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका हिमला गुरुङलाई एमालेले सहयोग गर्ने दुई पार्टीबीच सहमति छ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्। दाहाल यसअघि पनि भरतपुर महानगरको मेयर हुन् । ०७४ को निर्वाचनमा पनि भरतपुरमा कांग्रेस र माओवादीबीच गठबन्धन बनेको थियो।

प्रतिक्रिया दिनुहोस