स्थानीय तहको निर्वाचन : चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान

नामावली अद्यावधिक गरिँदै

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, ११ : २३
स्थानीय तहको निर्वाचन : चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान

चितवन। आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।

‘मतदाता नामावलीमा दर्ता भएका १८ वर्षमुनिका व्यक्तिको नाम हटाएर आयोगले हामीकहाँ पठाएको छ । अब त्यसलाई अद्यावधिक गरेर पुनः आयोगमा पठाउछौँ । त्यसपछि मात्र आयोगले फोटोसहित मतदाताको अन्तिम नामावली प्रकाशन गर्छ’, उनले भने । नामावली अद्यावधिक गर्दा करिब २०० को हाराहारीमा मतदाता संख्या थप/घट हुन सक्ने उनले बताए ।

निर्वाचन आयोगले आगामी २९ वैशाखसम्म पनि १८ वर्ष नपुग्ने मतदाता नामावलीमा दर्ता भएका व्यक्तिको नामावली हटाएर जिल्लामा पठाएको छ । चितवनमा त्यस्ता मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ रहेको छ । ४ चैत २०७७ सम्म चितवनमा तीन लाख ६८ हजार ३८२ मतदाता थिए ।

पछिल्लो पाँच वर्षमा ८६ हजार ८६८ मतदाता थपिएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनका बेला चितवनमा तीन लाख १३ हजार तीन मतदाता थिए । निर्वाचनमा दुई लाख ४० हजार ११४ जना अर्थात् ७६.७१ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।

निर्वाचन कार्यालयका अनुसार २९ वैशाखसम्म १८ वर्ष पूरा हुने मतदाताहरु भरतपुर महानगरमा एक लाख ८६ हजार ६७०, रत्ननगरमा ५२ हजार ८३९, खैरहनीमा ४३ हजार ७०८ र कालिकामा ३१ हजार ४०७ रहेका छन् । त्यस्तै, राप्तीमा ४० हजार ९६८, माडीमा २८ हजार ४९३ र इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् ।

मतदाताको नामावली अद्यावधिक गर्न तथा कुनै दाबी विरोध भए उजुरी गर्न निर्वाचन कार्यालयले आह्वान गरेको छ । अद्यावधिक तथा दाबी विरोधको कार्यक्रमको सूचना तथा मतदाता नामावली यही १९ फागुनसम्ममा स्थानीय तह, नापी, मालपोत कार्यालयलगायतका स्थानमा टाँसिने उनले बताए । 

त्रुटि सच्याउन वा कसैले झुटा विवरण दिएर मतदाता नामावली दर्ता गरेमा उजुरी गर्न २० देखि २२ फागुनभित्र निर्वाचन कार्यालयमा निवेदन दिन उनले आग्रह गरे । कसैको मतदाता परिचय पत्र हराएको छ भने पनि सम्बन्धित वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।

मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नामावली हटाउन २० देखि २३ फागुनसम्म एकाघरको सदस्य वा अन्य कुनै व्यक्तिले निर्वाचन कार्यालयमा सूचना दिनसक्ने छन् । 

सामान्यत निर्वाचनको तयारी गर्नका लागि निर्वाचन आयोगले १२० दिनको समय माग्छ । यस पटक स्थानीय तहको निर्वाचन गर्न ९४ दिन मात्रै पाएकाले अद्यावधिक गर्ने कार्यक्रमका लागि समय कम राखिएको निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए ।

सरकारले गएको २४ माघमा स्थानीय तहको निर्वाचको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता संकलनको काम रोकिएको हो । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदान केन्द्रको संख्या ४५५ पुग्ने अनुमान गरिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १६१ वटा मदतान स्थल र ४०८ वटा मतदान केन्द्र थिए । यस पटक ४७ वटा मतदान केन्द्र थपिने अनुमान गरिएको उनी बताउँछन् ।

एउटा मतदान स्थल भित्र सात वटासम्म मतदान केन्द्र रहने उनले बताए । एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाताले मतदान गर्न पाउने गरी व्यवस्था मिलाइने छ । 


 

प्रतिक्रिया दिनुहोस