बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए ।
उनका अनुसार गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन ।
बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ ।
आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणको लागि घटना भएको क्षेत्रमा पाँच सयदेखि एक किलोमिटर क्षेत्रको फरकमा नौ थान ‘क्यामेरा’ जडान गरिए पनि क्यामेरामा जङ्गली जनावर नदेखिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए ।
“स्थानीयवासीलाई थप जोखिम नहोस् र सुरक्षाको प्रत्याभूति होस् भन्ने उद्देश्यले निकुञ्जबाट प्रविधिको प्रयोगका साथै दैनिक मानवीय जनशक्तिसमेत खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको छ”, उनले भने, “निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै तीनवटा हात्ती परिचालन गरेर बाघको खोजी भइरहेको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०८२, १२ : १६
लेखकबाट थप