सरकारले चालु वर्षको बजेटको आकार ८६ अर्बले किन घटायो ?

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १९ : ५१
सरकारले चालु वर्षको बजेटको आकार ८६ अर्बले किन घटायो ?

काठमाडौँ । सरकारले चालु वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ। अर्थ मन्त्रालयमा बिहीबार चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षको बजेट आकार ८६ अर्बले घटाएको बताए। चालु वर्ष सरकारले अघिल्लो सरकारले ल्याएको बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ प्रतिस्थापन बजेट ल्याएको थियो। सरकारले अर्धवार्षिक समीक्षा गर्दै ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको उनले उल्लेख गरे।

अर्थमन्त्री शर्माले चालु वर्षमा विनियोजित बजेटको ९४।७ प्रतिशत अर्थात् १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिए। उनले चालु वर्षको समीक्षा गर्दै यस वर्ष पूर्ण आकारमा बजेट खर्च नहुने बताए। चालु वर्षमा चालु खर्च १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पुँजीगत खर्च ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनमा १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको मन्त्री शर्माले बताए।

उनले पूर्वतयारी बिना प्रतिस्थापन बजेट ल्याएकाले आर्थिक वर्षको ६ महिनाको अवधिमा पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेको स्विकारे। पुँजीगत खर्च बढाउन अब सरकारले बजेट निर्माण प्रक्रिया नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। अर्थमन्त्री शर्माले चालु वर्षको राजस्वको लक्ष्य र वैदेशिक अनुदान रकम परिचालनको लक्ष्य घटाएर राजस्व र आन्तरिक ऋण १२ खर्ब ८९ अर्ब ८२ करोड रुपैयाँ, वैदेशिक अनुदान ५० अर्ब रुपैयाँ र वैदेशिक ऋण २ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।

अर्थमन्त्री शर्माले भने, ‘कोभिड–१९ विरुद्ध खोप अभियानका कारण आर्थिक गतिविधिका काम सामान्य हुँदै गएकाले विश्वको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिए पनि मुलुकको आर्थिक वृद्धिदरमा समेत आर्थिक वर्षको बाँकी अवधिमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।’ उनले मुद्रास्फिती नियन्त्रणमा रहेको बताए। उनले भने, ‘चालु वर्षको ६ महिनामा गत वर्षको तुलनामा निर्यात ९५.५ प्रतिशतले बढेको छ भने आयात ५१.३ प्रतिशतले बढेको छ।’

०७८ र ७९को ६ महिनासम्म रेमिटेन्स ५।५ प्रतिशतले कमी भई ४ खर्ब ६८ अर्ब ४५ करोड रहेको उनले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ११.१ प्रतिशतले बढेको थियो। यो अवधिमा सोधान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड घाटामा छ भने विदेशी मुद्रा सञ्चित ११ खर्ब ६५ अर्ब ८० करोड छ। यसले ७.२ महिनाको वस्तु र सेवा आयात धान्न सक्छ। यस वर्ष सार्वजनिक खर्च वृद्धि हुन्छ। राष्ट्रिय गौरवका आयोजना पछिल्लो ६ महिनामा १६.३९ प्रतिशत खर्च भएको छ।’

लक्ष्यअनुसार राजस्व संकलन भएको उनले बताए। उनले भने, ‘यस आर्थिक वर्षमा राजस्व संकलन लक्ष्य पूरा हुने अपेक्षा छ। चालु वर्ष बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटमा ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा कायम गरिएको छ।’

प्रतिक्रिया दिनुहोस