भिमबहादुर बिक मृत्यु प्रकरण : घटनालाई जातीय विभेद मुद्दातर्फ मोडिँदै

प्रकाश सिग्देल

बुधबार, ०३ कार्तिक २०७८, १६ : ४१
भिमबहादुर बिक मृत्यु प्रकरण : घटनालाई जातीय विभेद मुद्दातर्फ मोडिँदै

चितवन । चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएपछि जातिय रुपमा घटनालाई चर्काउन थालिएको छ । दलित अधिकारकर्मीहरुले दलितहरुमाथि गैर दलितले अन्याय र अत्याचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा एक जना दलितले मृत्युवरण गर्नपरेको भन्दै उनीहरुले यो घटनालाई गैर दलितले दलित माथि गरेको ठुलो अत्याचार र विभेद ठानेका छन् ।  चौविस कोठीबाट दलित अधिकारकर्मीहरु र्याली सहित प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै तामाङले घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको र पिडितलाई न्याय दिलाउदै घटनामा संलग्न लाई हदै सम्मको कारबार्हीका लागि आफ्नो समन्यकारी भुमिका रहने बताए ।

स्थानिय दुर्गा मन्दिरमा बलि दिन नदिएको बिषयमा भिमबहादुरले मदिराको लतमा आफनो दुखेसो सुनाउन थालेपछि स्थानिय दुई जना व्यवसायीले दलित भएकै नाममा कुटेर हत्या गरेको अधिकारकर्मीको दाबी छ । उनिहरुले केहि बेर प्रशासन अघि नाराबाजी गरी हत्यारालाई फासि दिनुपर्ने भिमबहादुरलाई सहिद घोषणा गर्नुपर्ने माग गरेका थिए ।

लंकु दुर्गा चोकमा छिमेकी सीताराम बस्नेत र सोही क्षेत्रमा फार्मेसी सञ्चालन गरेका दीलीप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको पिडित परिवारको दाबी छ ।

घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दुबै जनालाई पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

मदिरा सेवन गरेर लंकु दुर्गा चोक नजिकै रहेको दीलीपको फार्मेसी पुगेर भिमले  दीलीप र फार्मेसी नजिकै घर भएका सीतारामलाई गालि गर्न थालेपछि प्लाष्टिकको पाइपले सीतारामले कुटेको र पछि दिलीपले पनि हातले हिर्काउदा त्यही ढलेका उनको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरु बताउछन् । आफनो बुबालाई दलित भएकै कारण हत्या गरिएको मृतकका छोरा किसान सुनारले बताए । मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा आफनो बुबालाई स्थानियले हत्या गरेको उनी बताउछन् ।  

भीमको कुटपिटपछि टाउकोको पछाडी भागमा चोट लागेको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ ।

दीलीप र सीतारामको कुटपिटबाट नै भीमको मृत्यु भएको पुष्टि भएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने कसुरमा जाहेरी दिएका छन् ।

घटनाबारे सिसिटिभि फुटेज पनि बाहिरिएको छ । घटना जातियताको आधारमा भएको हो या अरुनै कारण हो त्यो बिषयमा आफुहरुले अध्ययन गरिरहेको चितवन प्रहरी प्रमुख ओम अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस